पोखरामा चाइनापुलदेखि पृथ्वीचोकसम्म सरसफाइ

 

पोखरा न्युज – २८ माघ ।

पोखरामा जारी बृहत् सफाइ अभियानले बसपार्कस्थित चाइनापुलदेखि पृथ्वीचोकसम्म सरसफाइ कार्यक्रम गरी २७ औं अख्तियार दिवस मनाइएको छ ।

पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा फोहोर मैलाको डंगुर, दुर्गन्धित नाला, अव्यवस्थित पार्किङ, अराजकता र गुण्डागर्दी लगायतका गतिविधि हुँदैआएकोमा सबैखाले विसंगत एवं दण्डहीनता अन्त्यका लागि अख्तियार कार्यालय पोखरासँगको सहकार्यमा सफाइ कार्यक्रम आयोजना गरिएको वडा सचिव एवं अभियन्ता लोकदर्शन कोइरालाले बताएका छन् । कार्यक्रममा करिब २७ टन फोहोर मैला संकलन गरी व्यवस्थापन गरिएको थियो ।

यसअघि ४ नं. प्रदेश सरकारका मुख्य सचिव लक्ष्मण अर्यालले कार्यक्रमको शुभारम्भ गरेका थिए । अति संवदेनशील ठाउँमा कार्यक्रम गरेर अख्तियार दिवस मनाएकोमा अभियानको उचाइ बढेकोमा खुशी प्रकट गर्दै उनले यस क्षेत्रको नियमित सरसफाइ र स्वच्छता कायम राख्ने दायित्व अब महानगर लिनुपर्ने बताए ।

उपस्थित सहभागीलाई पोखरा उपत्यका बृहत् सफाइ अभियानका संयोजक रामबहादुर पौडेलले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले शुभकामना मन्तव्य, अख्तियार कार्यालय पोखराका प्रमुख यदुप्रसाद पन्थीले धन्यवाद तथा उपसचिव रमेश ढकालले स्वागत मन्तव्य राखेका थिए ।

यसपटकको सफाइ अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, चारवटै सुरक्षा निकाय र तिनका प्रमुख, विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारी, खेलाडी, विभिन्न आमा समूह, स्थानीय संघसंस्था, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआइसी एशिया बैंक लगायत पोखरा बहुमुखी क्याम्पस र नवप्रभात माविले ऐक्यबद्धता व्यक्त गरेको नागरिक अगुवा शशी तुलाचनले जानकारी दिइन् । आगामी साता ९० औं श्रृंखला सेती किनार मसिनाघाटमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button