पोखरामा ‘सिरुमारानी’ मञ्चनको तयारी पूरा

नाटक फागुन २ गतेबाट १५ गतेसम्म मञ्चन हुने

पोखरा न्युज – २९ माघ । 

पोखरामा मञ्चन हुन लागेको नाटक ‘सिरुमारानी’को सम्पूर्ण तयारी पूरा भएको छ। नाटक पोखरा गैरहापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा मञ्चन हुनेछ। यो नाटक मञ्चनसंगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वर्षाेदेखिको सपना पुरा हुनेछ। फागुन २ गते थियटरको उद्घाटनसंगै नाटक मञ्चन हुनेछ।

थियटरको उद्घाटन कास्की क्षेत्र नं. २ का सांसद रविन्द्र अधिकारीले गर्ने कार्यक्रम तय भएको थियटर अध्यक्ष परिवर्तनले जनाए। नाटक फागुन २ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ। शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ। नाटक हेर्न तीनसय र पाँचसय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एकसय दरको टिकट लाग्नेछ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय रहनेछ। नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतम, धनबहादुर गायकको अभिनयले पोखरेली रङ्गमञ्चलाई माया गर्नेहरु थप उत्साहित बन्ने अपेक्षा गरिएको छ। साथमा विभिन्न नाटकमार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ र रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरगं ल्याउने दावी थियटरको छ। थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन हुने नाटकको निर्देशन सोमनाथ खनालले गर्दैछन्।

पोखरा थियटरको पहिलो ब्याचका नवप्रवेशी कलाकारहरुलाई मण्डला थियटरका क्रियटिभ डाइरेक्टर राजन खतिवडा, मण्डलाका अध्यक्ष तथा कलाकार दयाहाङ राई, कलाकार बुद्धि तामाङ, सोमनाथ खनाल, सुदाम सी. के., विकास जोशी, खगेन्द्र लामिछाने, मनोज पण्डित, श्याम खड्का, सरुभक्त, प्रकट पगेनी ‘शिव’, तीर्थ श्रेष्ठ, प्रकाश घिमिरे, धनबहादुर गायक, प्रमिला तुलाचन, रमेश श्रेष्ठ, विष्णु नेपाली, मनोज गुरुङ, गनेस पौडेल, रुपिन्द्र प्रभावीलगायतले अभिनयका विभिन्न शैलीबारे सहजीकरण गरी उनीहरुको अभिनयमा निखारता प्रदान गरिरहेका छन् ।

एजेन्सी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button