गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माण युद्धस्तरमा

पोखरा न्युज – २९ माघ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।

अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एकै चरणमा दैनिक ६ घण्टा सडकमा आवागमन बन्द गरी सडक विस्तारको कार्यलाई गति दिन लागिएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए ।

फागुन १ देखि दैनिक बिहान ११ बजेदेखि साँझ पाँचबजेसम्म सडकमा सवारी आवागमन बन्द गरी काममा तीव्रता दिने निर्णय जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शुक्रबार गरेको हो । यो सडकमा गएको पुस १ गतेदेखि यही माघ मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म दुई चरणमा आठ घण्टा सवारी सञ्चालन बन्द गरी निर्माणको काम अघि बढाइँदै आइएको थियो ।

विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १ देखि शुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम छ महिना थप सहित गरी २७ महिना (२०७५ फागुन ५)मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यसअघि एक वर्ष अवधिको प्रगति निकै निराशाजनक भएपछि लक्ष्य पूरा गर्न अहिले युद्धस्तरमा काम भइरहेको योजना प्रमुख देवकोटाले बताए ।

“भारतीय नाकाबन्दीले चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाकाको रुपमा छनोट गरिए पनि सडक विस्तारमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौं,” योजना प्रमुख देवकोटाले भने – “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, वन क्षेत्रमा काम गर्न अनुमति पाउन ढिलाइले तोकिएको समयमा काम पूरा गर्न गा¥हो भइरहेको छ ।”

काम शुरु भएको एक वर्षको अवधिमा (विसं २०७४ मंसिर मसान्तसम्म) आर्थिक प्रगति दश प्रतिशत मात्र भएको थियो । पुस १ देखि सडकमा सवारी आवागमन बन्द गरी काम शुरु भएको करिब दुई महिनामा प्रगति उत्साहजनक देखिएको छ । योजना प्रमुख देवकोटाका अनुसार आर्थिकतर्फ २१ दशमलव ३ प्रतिशत र प्राविधिकतर्फ १४ दशमलव ३५ प्रतिशत पुगेको छ, यो प्रगति सफलता उन्मुख हो । सडक विस्तारको काम सम्झौता अवधि २१ महिना भएपनि छ महिना थप गरेर २७ महिना पु¥याइएको छ ।

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी  हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक ८२ किलोमिटर लामो छ ।

सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किलोमिटर सडक (गल्छी–त्रिशूली–मैलुङ्ग)को काम सम्झौता भएर शुरु भएको एक वर्षमा दश प्रतिशत मात्र भएको छ । अब बाँकी रहेको एक वर्षमा ९० प्रतिशत कार्य गर्नुपर्नेछ ।

फागुन १ देखि दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरी काम थालेर अबको दुई महिनामा प्रगति ३५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको योजना प्रमुख देवकोटाले बताए ।

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म ८६ किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा निर्माण गर्न रु नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । साविक सडक सुधार तथा स्तरोन्नतिको काम ठेकेदार पक्ष कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनसहित नेपाली सेना र चीन सरकारमार्फत भइरहेको छ ।

गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किलोमिटर सडक नेपाली सेनामार्फत ट्रयाक खोल्ने काम भइरहेको छ । सेनाले आगामी वैशाखसम्ममा हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किलोमिटर सडक चीन सरकारमार्फत निर्माण गरिएको छ ।

मुख्य बजारमा चार लेन

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ । गल्छीको मुख्य बजारमा ५०० मिटर र गंगटेदेखि ढुङ्गेसम्म पाँच किलोमिटर सडकमा बीचमा फूलबारी (क्वारी) सहित चार लेनको बनाउन लागिएको योजना प्रमुख देवकोटाले बताए । उनका अनुुसार दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको मध्यभागदेखि दायाँबायाँ १५-१५ मिटर जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत संकलन भइरहेकाले जतिसक्दो चाँडो यकिन गरी मुआब्जा वितरण गर्न पहल भइरहेको छ । रु नौ अर्ब पचास करोडको लगानीमा निर्माण भइरहेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।

त्रिदेशीय मार्ग बन्ने

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्ग समेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकको आर्थिक विकासमा यो सडक ठूलो योगदान रहने छ ।

राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको यो सडक निर्माणको कामलाई जनअपेक्षाअनुसार नै नयाँ बन्ने सरकारले तीव्रता दिने आशा गरिएको छ । भारतीय सरकारबाट अघोषित नाकाबन्दी भइरहेको समयमा विसं २०७२ कात्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

सडक सञ्चालनमा आएपछि चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूली, गल्छी हुँदै काठमाडौँ पुग्न १२८ किलोमिटरको मात्रै यात्रा तय गर्नु पर्नेछ । योजना प्रमुख देवकोटाका अनुसार रसुवागढीदेखि गल्छी हुँदै भारतीय सीमा क्षेत्र पर्साको ठोरीसम्मको दूरी २७८ किलोमिटर मात्र हुनेछ ।

सन् २०२० सम्म केरुङमा रेल सेवा विस्तार गर्ने चीन सरकारको योजनाले रसुवागढी–काठमाडौँ तथा रसुवागढी–ठोरी सडकको उपयोगितालाई अझै बढाइदिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button