म्याग्दीको गलेश्वरमा नटराजको मूर्ति अनावरण

पोखरा न्युज – ०१ फागुन ।

बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरमा हिन्दू धर्मावलम्बीको आराध्यदेव भगवान् शिवको नृत्य अवतार मानिने नटराजको मूर्ति अनावरण गरिएको छ ।

गलेश्वरमा रहेको १०८ शिवलिंगको बीचमा स्थापना गरिएको नटराजको मूर्तिको प्रदेशसभा सदस्य विनोद केसीले सोमबार अनावरण गरेका हुन् ।

पोखरा उपमहानगरपालिका–१० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, भीमबहादुर, सरिता र भीमकुमारी पुनले दिवंगत आमा भद्रशिला पुनको स्मृतिमा सो मूर्तिको स्थापना गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

रु तीन लाख ७५ हजारको लागतमा स्थापना गरिएको मूर्ति गलेश्वर दर्शनका लागि आउने भक्तजनका लागि थप आकर्षण बन्ने कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

मूर्तिको अनावरणपछि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेशसभा सदस्य केसीले कालीगण्डकी कोरिडोरअन्तर्गत लुम्बिनी र मुक्तिनाथको केन्द्रमा पर्ने गलेश्वरको विकासमा समुदाय र कोषले महत्वपूर्ण योगदान गरेको बताए ।

यसैबीच, आज शिवरात्रि पर्वको अवसरमा बिहानैदेखि गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङलगायत देशका विभिन्न ठाउँबाट आएका भक्तजनको भीड लागेको हो । गलेश्वरमा शिवरात्रि, बालाचतुर्दशी र साउन महिनाको सोमबारका दिन पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button