Pokhara News

४ नं प्रदेशसभा सदस्य आशा कोइरालाको स्मृतिमा जनयुद्ध

नारायण शाही, पोखरा न्युज – २ फागुन । 

आशा कोइराला प्रदेश नं ४ की प्रदेशसभा सदस्य हुन्। उनी तनहुँको निर्वाचन क्षेत्र नं २ (२) बाट साझा वाम उमेद्वारका रुपमा प्रत्यक्ष निर्वाचन जितेर प्रदेशसभा सदस्य बनेकी हुन्। माओवादी केन्द्रकी कोइराला साझा वाम उमेद्वारका रुपमा तनहुँको उक्त निर्वाचन क्षेत्रबाट प्रतिद्वन्दी काँग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेललाई झिनो मत अन्तरले हराउँदै प्रदेशसभा सदस्य बन्न सफल भएकी हुन्।

विद्यालयको प्राथमिक तह कक्षाको विद्यार्थी जीवनकालदेखि नै कोइराला नेपालको कम्युनिष्ट आन्दोलनको निकट रहिन्। गोरखाको नारेश्वर भोकतिनीस्थित बिन्दवासिनी माविमा चार कक्षा पढ्दादेखिनै कम्युनिष्ट विद्यार्थी संगठनको संघर्षलाई नजिकबाट नियालेको कोइराला सम्झन्छिन्। कम्युनिष्ट पक्षधर त्यतिबेलाको विद्यार्थी आन्दोलन कोइरालाको संघर्षपूर्ण जीवनका लागि मार्गदर्शन बन्न पुग्यो। कोइराला, कम्युनिष्ट आन्दोलनको पछिल्लो समयमा माओवादी बिचारधाराबाट प्रभावित भइन् र सक्रिय बनिन्। नेपाली र अर्थशास्त्र बिषयमा गोरखा क्याम्पसबाट बीएड शिक्षा पूरा गरेकी कोइरालाले कम्युनिष्ट आन्दोलनको विभिन्न भूमिकामा रहेर काम गरिन्।

आफू माओवादी कम्युनिष्ट आन्दोलनमा लाग्दा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यदेखि शिक्षक संगठन तनहुँको जिल्ला सदस्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीको सचिवालय सदस्य, पार्टीको केन्द्रीय र पोलिटब्युरो सदस्यसमेतको भूमिका कुशलतापूर्वक निभाएको कोइराला बताउँछिन्। माओवादी आन्दोलनमा र शसश्त्र जनयुद्धमा कोइराला कुशल संगठकको रुपमा चिनिन्छन्। माओवादी आन्दोलनमा र शसश्त्र जनयुद्धमा आफूलाई कुशल संगठकको रुपमा उभ्याएकै कारण माओवादी पार्टीले कोइरालाको उच्च मुल्याङ्कन गर्दै दोस्रो संविधानसभाको सदस्य र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसम्म पु¥यायो।

यद्यपी, ०६४ को पहिलो संविधानसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा तनहुँबाट चुनाव हारेपनि ०७० को दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सभासद बनेर नेपालको नयाँ संविधान निर्माण गर्न कोइरालाले उल्लेख्य भूमिका निर्वाह गरिन्। यो आफ्नो जीवनमा सुनौलो अबसर भएको कोइरालाले बताइन्। नयाँ संविधान बनिसकेपछिको रुपान्तरित व्यवस्थापकीय संसदमार्फत माओवादी–काँग्रेस गठबन्धनमा कोइराला करिव तीन महिना देउवा नेतृत्व सरकारको महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रुपमा सक्रिय रहिन्। बाँकी ६ महिना देउवा सरकारको बिना विभागीयमन्त्री बनिन्। एमाले–माओवादीको वामपन्थी गठबन्धनपछि देउवा सरकारमा संलग्न माओवादीबाट मन्त्री बनेकाहरुलाई प्रधानमन्त्री देउवाले बिना बिभागीय मन्त्री बनाएपछि कोइरालासमेत बिना विभागीयमन्त्री बन्न पुगेकी थिइन्।

माओवादी जनयुद्धकालमा कोइरालाको पार्टीभित्र ‘सरला’ नाम थियो। जनयुद्धमा जानुभन्दा अघि कोइराला तनहुँमा स्थायी शिक्षिका थिइन्। जनयुद्धमा लाम लाग्नुभन्दा पहिले कोइरालाले स्थायी शिक्षिकाका रुपमा दश बर्ष बिताइन्। उनीसंग एउटामात्रै सन्तान सानी छोरी अस्मिता थिइन्। पेशा र सन्तान दुबैलाई ध्यानमा राखेर जनयुद्धको तयारीदेखि नै कोइरालाले पार्टीलाई उत्तिकै सकेको भूमिका निर्बाह गर्दै गइन्। अत्यन्त प्रतिकूल परिस्थितिमासमेत आफूले पार्टी र जनयुद्धलाई केन्द्रभागमा राखेर निष्ठापूर्वक काम गर्दै गएको कोइरालाले पोखरा न्युजलाई बताइन्। ‘पार्टीले दिएको जिम्मेवारी पूरा गरे,’ कोइराला भन्छिन्, ‘चाहे प्रहरी हिरासतमा होस। चाहे सैनिक हिरासतमा। चाहे दुस्मन सेनाको घेराभित्र घाइते अबस्थामा होस। चाहे जेलका चिसा छिंडीहरुमा होस। मैले मेरो स्वाभिमानी शिर झुक्न कहिल्यै दिइन।’

‘यदि तिमी संसार फेर्न आँट गर्छौ भने तिमिले हरेक यातनाका दस्तावेजमा हस्ताक्षर गर्ने साहस गर्नैपर्छ। चाहे तिम्रो भागमा मृत्यु नै किन नपरोस।’ यही सिद्धान्त कोइरालाका लागि अडिग थियो। यही सिद्धान्तमा रहेर कोइरालालाई ६ महिने हिरासत, ४ बर्षे जेलजीवन सहज बनेको थियो। ‘यातना त बुझ्ने कुरा हो,’ उनले भनिन्, ‘जनयुद्धको त्यो भीषण आँधिबेहरीमा दुस्मन सेनाको किल्लाभित्र बिताएका ६ बर्ष कस्तो रह्यो होला ? जो कसैले अनुमान गर्न सक्छन्।’

पूर्णकालीन सदस्य रहेर जनयुद्धमा लाम लाग्दा तनहुँको सतिस्वाँरास्थित चिहानडाँडाबाट पाँच जना सहयोद्धासहित कोइराला पहिलोपटक पक्राउ परिन्। ३५ दिनको हिरासत र एकमहिने जेलजीवन पूरा गरी कोइरालासहित ६ जना धरौटीमा छुटे। तनहुँको कारागरमा महिला राख्ने ठाउँ नभएका कारण तनहुँमा पक्राउ परेकाहरुलाई कास्की कारागरमा राख्ने गरेको कोइराला सुनाउँछिन्। पहिलोपटकको एकमहिने जेल जीवन सकेर धरौटीमा छुटेको हप्ता दिनभित्र कोइराला पुनः पक्राउ परिन्।

तनहुँबाट जनयुद्ध सहिद बनेका शोभाकान्त पोखरेलको ४५ औं स्मृति दिवस मनाउन जाँदै गर्दा कोइराला तनहुँको जामुनेस्थित आफ्नै घर नजिकबाट पक्राउमा परिन्। त्यतिबेला, आफूले हिरासतको यातनासहित सुरक्षा ऐनको मुद्दा खेप्नुपरेको कोइराला सुनाउँछिन्। ‘त्यतिबेला काठमाण्डौंको सिंहदरवारदेखि विभिन्न वडा प्रहरी कार्यलयहरुमा पु¥याइन्थ्यो,’ कोइरालाले सुनाइन, ‘सुरक्षा ऐनको मुद्दा लगाएको थियो। ६÷६ महिनामा अदालतले छाड्थ्यो, अदालत परिसरबाटै सुरक्षा निकायले अर्को पक्राउ पुर्जी थमाएर पक्रन्थ्यो।’

कोइरालालाई तनहुँ लगायत कास्की, काठमाण्डौं, बिरगञ्ज, महोत्तरी र बारा जिल्लाको कारागरमा आफू जेल बसेको कोइरालासंग अनुभव छ। ‘काठमाण्डौंको सिंहदरवारदेखि, बानेश्वर र बौद्धसम्मको कुनैपनि वडा प्रहरी कार्यलयहरुमा नबसेको ठाउँ रहेन,’ कोइरालाले सुनाइन्। दोस्रोपटक बाबुराम भट्टराईको संयोजकत्वमा वार्ताटोली बनेपछि कोइरालाले ०५८ भदौ १४ जेल जीवनबाट छुट्कारा पाएकी थिइन्।

०६२ साल जेठ ४ गते युनिफाइड कमाण्डको घेरामा परि घाइते अबस्थामा रहँदाको कोइरालाका लागि कहिल्यै नमेटिने अबिष्मरणीय क्षण रह्यो। पार्टी सदस्य मादले दाइले कोइरालालाई डोकोमा बोकाएर लगे सामुङबाट राम्जाकोट पुगेर हेलिकप्टरमा डोको बिसाएर फर्कने बेला ‘दाइ, सबैलाई अभिबादन भनिदिनु’ भनेपछि मादले दाइले आँखाभरी आँसु पारेर फर्किएको दिन कोइरालाले कहिल्यै बिर्सन सकेकी छैनन्।
जनयुद्ध बर्षगाँठमा जनयुद्धको एउटा योद्धा भएको हैसियतले कोइरालाले ऐतिहासिक संबिधानसभाको गहन जिम्मेवारी निर्वाह गर्दै नेपाली जनताको पक्षमा निर्मित नयाँ संविधानमा हस्ताक्षर गर्ने सुनौलो अवसर पाइन्। यसले कोइरालालाई अति गौरवान्वित बनाएको छ। नेपाल सरकारको मन्त्रीसमेत बनेर रास्ट्रको केन्द्रीय भूमिकामा रही काम गर्ने मौका आफूलाई मिलेको सुखद अनुभव कोइराला सुनाइन्।

‘छोटै अवधीमा भएपनि नयाँ अनुभुति गर्न पाएको छु,’ कोइरालाले भनिन्, ‘अहिले भर्खरैमात्र तनहुँ २ (२) बाट प्रदेशसभा सदस्यको रुपमा निर्बाचित बन्ने सुनौलो अबसर पाएको छु। नितान्त नयाँ संरचनामा काम गर्ने थप अबसर पाएको छु। यो श्रेय मेरो पार्टी, महान सहिद र बेपत्ता योद्धा, घाइते र अपांग योद्धा र लाखौं कार्यकर्ता अनि आम आदरणीय जनसमुदायलाई जान्छ। यसर्थ मलाई जनताको सेवक बन्ने राम्रो र चुनौतीपूर्ण अबसर प्राप्त भएको छ। मैले विशेष जिम्मेवारीबोधको अनुभव गरेको छु। सदैव जनउत्तरदायी हुन प्रेरित गरेको छ । हिजोका दुख कष्ट बिर्सिएको छुु।’

Related posts

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

रासस

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

रासस

संसद्को अर्काे बैठक भोलि बिहान १० बजे

पोखरा न्युज
खुल्दैछ.......