पोखरामा फागुन १८ गते अन्तराष्ट्रिय रेष्लर भिड्ने

पोखरा न्युज – ०४ फागुन ।

पोखरामा फागुन १८ गते अन्तराष्ट्रिय स्तरका रेष्लरहरु भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै र नेपालमा समेत नयाँ खेलाडीको उत्पादनको लक्ष्यका साथ पोखरामा यो प्रतियोगिता आयोजना गर्न लागेको संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन ।

नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन प्रबर्द्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष थापाले बताइन । राष्ट्रिय खेलकुद परिषद मार्फत मान्यता प्राप्त संघले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तराष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनले बताइन ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु समेत रहने संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने छन् । त्यसैगरि अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । प्रतियोगिताको प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रसिद्ध रयापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माको आवाजले पूर्ण रुपमा दर्शकलाई मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले यस प्रकारका प्रतियोगिताले पोखरा नगरलाई खेलकुद नगरीको रुपमा बिकास गर्न सहयोग पुग्ने बताए । उनले प्रतियोगिता सफल बनाउन पोखरेली सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहनु पर्ने कुरामा जोड दिए । नेपालमा रिङ रेस्लिङ खेलको बिकासका लागि एकेडेमी समेत संचालनमा आएको सुखद पक्ष रहेको भन्दै उनले फागुन १८ को कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरे । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकले समेत बोलेका थिए ।

डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रा.लि.को ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा रेस्लिङ प्रतियोगिता हुने र यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस टिभीले गर्ने भएको हो । पोखरा रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा खेलाडी खेल्ने रिङ र लाइटिङको व्यवस्था नेपालमा हाल सम्मकै उच्च स्तरको रहेको अध्यक्ष थापाले बताएकी छिन । प्रतियोगिता अबलोकनका लागि आयोजकले रु ३ सय ५ सय र १ हजारको टिकटको व्यवस्था गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button