जनावरको डिएनए परीक्षण शुरु भएसँगै जनावरका अंग चोरी गर्नेलाई कारबाही गर्न सहज

पोखरा न्युज – ०५ फागुन ।

जनावरको डिएनए परीक्षण शुरु भएसँगै गैरकानूनी रुपमा जनावरका विभिन्न भागको अंग चोरी र बिक्री गर्नेलाई कारवाही हुन थालेको छ ।

राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्षको शुरुसँगै जनावरको डिएन परीक्षण शुरु गरेपछि अदालतलाई समेत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न सहज भएको हो । जनावरको डिएनए परीक्षणले सही अनुसन्धान हुने हुँदा न्याय प्रणालीलाई सहज बनाएको प्रमुख वैज्ञानिक अधिकृत दिनेश झाले बताए । उनले भने, “यसअघि जनावरको मासु वा अरु भाग भेटिँदा छुट्याउन सकिने थिएन ।” डिएनए परीक्षण शुरु भएपछि जनावरका विभिन्न भाग र स्वरुप बदलिएर आउँदा पहिचान गर्न सकिने उनी बताउछन् ।

सात महिनामा चार गाई र ११ जंगली जनावरको डिएनए परीक्षण भइसकेको छ । गाईको आलो मासु र जंगली जनावरको सुकुटी बनाएर वा विभिन्न भाग बिक्रीका लागि चोरी हुँदै गर्दा पक्राउ गरेर परीक्षण भएको हो । रगत, रौँ, हाडलगायत जुनसुकै चिजबाट कुन जनावर हो भन्ने पहिचान हुन्छ । अदालत, वन विभाग, वन्यजन्तु विभागलगायत निकायबाट जनावरको डिएनए परीक्षण गर्न आइरहेका छन् । उनी भन्छन्, “हामीले आवश्यकता भएकाको डिएनए परीक्षण गरेर नतिजा दिइरहेका छौँ ।”

अझै पनि धेरैलाई जनावरको डिएनए परीक्षण हुन्छ भन्ने जानकारी छैन । अदालतमा र नेपाल प्रहरीमा अझै धेरैलाई जानकारी हुँदा आउने मुद्दा अझै बढ्न सक्छ । उनी भन्छन, “यी महिनामा घटना क्रमशः बढिरहेको हामीले पाएका छौँ ।” मानवको डिएनए परीक्षण गर्ने उपकरणले नै जनावरको पनि डिएनए परीक्षण हुने झा बताउछन् । उपकरणमा हालिने रसायन मात्रै केही फरक हुन्छ । यसको प्रयोग सम्बन्धमा झाले नै केही समय पहिले तालीम लिनुभएको थियो । उनी भन्छन, “त्यसको प्रयोगबारे ज्ञान नहुँदा यसअघि मानवको मात्रै परीक्षण भइरहेको थियो ।”

केही मुद्दामा जनावरको डिएनए परीक्षण अनिवार्य भएको झा बताउछन् । यसअघि परीक्षण नहुँदा कतिपय मुद्दामा सही अनुसन्धान हुन सकेको थिएन । सरोकारयुक्त निकायले स्वरुप जस्ताको तस्तै आउँदा कुन जनावरको अंग भन्ने पहिचान गर्थे भने स्वरुप बदलिँदा मुद्दा अघि बढाउने अवस्था थिएन । उनी भन्छन, “यसअघि यहीँ पनि धेरै मुद्दाहरु आउँथे तर हामीले उसै फिर्ता पठाउनुपर्ने अवस्था थियो ।” अहिले आएका कुनै पनि मुद्दा फिर्ता भएका छैनन् ।

परीक्षणबाट स्वरुप बदलिँदा कुन जनावर र कुन अंग भन्ने पहिचान हुन्छ । यसले गर्दा अपराधीलाई कारवाही गर्न सहज भएको छ । कहिलेकाहीँ जनावरको फरक स्वरुपमा त कहिले अरु वस्तुबाट जनावरको अंग जस्तै बनाएर बिक्री हुन्छ । उनी भन्छन, “यी दुवै अवस्थामा हामीले परीक्षण गरेर सत्यतथ्य पत्ता लगाउँछौँ ।” कहिलेकाहीँ अरु वस्तुबाट गैँडाको खाग जस्तै बनाएर बिक्री वितरणसमेत हुने गरेको छ । प्रमुख वैज्ञानिक अधिकृत झा कार्यालयले सोचेभन्दा बढी मुद्दा आइरहेको बताउछन् । मानव डिएनए परीक्षणमा पुराना मुद्दासमेत आउने भए पनि जनावरको बढी नयाँ मुद्दा प्रयोगशालामा आइरहेका छन् ।

अनुसन्धानका विभिन्न विधिमध्ये डिएनए परीक्षण एक हो । अरु अनुसन्धानबाट पत्ता नलागेपछि डिएनए परीक्षण हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित सूचीमा राखेका जनावरको बिक्री हुँदा वनसम्बन्धी कार्यालय र कहिले अदालत हुँदै मुद्दा परीक्षणका लागि आइपुग्छ । गाई काट्न नपाइने र काट्दा सजायको व्यवस्था भए पनि लुकिछिपी यस्ता काम भइरहेका थिए । उनी भन्छन, “पहिले पनि घटना नभएका होइन तर पहिले परीक्षण नहुँदा कति भए थाहा हुँदैनथ्यो, अब थाहा हुन्छ ।” प्रयोगशालामा ६० वन्यजन्तुसम्बन्धी मुद्दा आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button