बागलुङको मानवसेवा आश्रम : बेसहाराको सारथि

पोखरा न्युज – ०५ फागुन ।

विसं २०७४ भदौ २८ को चिसो साँझ । सडक पेटीमा दिन काटिरहेका साइँला । न नाम, न ठेगान । बटुवाले उनलाई ‘साइँला’ भनेर चिन्दा रहेछन् ।

होचो कद, न उमेरको पत्तो । निष्क्रिय शरीर, बौद्धिक अपांगता त्यहीँ माथि न कसैको माया न सहारा । साइँला कहिलेदेखि सडकमा आए होलान् ? चार-पाँच वर्ष उनले म्याग्दी, बेनीबजारका सडकमा जीवन गुजारे । दुई वर्ष त उनी सानो टहरामा हल न चल भएर बसे ।

यति कष्टसाध्य जीवन काटिरहेका साइँलालाई त्यो भदौरे साँझ वरदान नै बन्यो । उनको बाटो यसरी मोडियो, उनले नयाँ जीवन पाए, नयाँ घर, प्रेम र आशा पाए । अहिले उनी हिँड्छन्, गीत गाउँछन्, अह्राएका स–साना काम गर्छन् ।

साइँला यत्तिकै सडकबाट घर आएका भने होइनन् । बेवारिसे उनलाई मानवसेवा आश्रम बागलुङले सहारा दिएको हो । आश्रममा पनि साइँला भनेर चिनिने उनले अहिले आफ्नो नाम ओमबहादुर विक भएको बताउने गरेका छन् ।

जन्मथलो, घर, परिवार र आफन्तहरुबारे उनी पूरै अनभिज्ञ छन् । शुरुमा आश्रम आउँदा अस्वाभाविक क्रियाकलाप गर्ने उनको व्यवहारमा क्रमिक परिवर्तन आइरहेको आश्रमकी अभियन्ता सुमिरा लामाले बताइन् । “खान खुवाउन, दिसापिसाब गराउन एकदमै समस्या थियो”, लामाले भनिन्, “अहिले केही सुधार छ, शौचालय भने हामीले नै लानुपर्छ ।” कुनै औषधिबिना नै आश्रमको नियमित हेरचाह र पालनपोषणले उनको स्वास्थ्य र शारीरिक अवस्थामा सुधार आएको हो ।

पहिले एक ठाउँमा बसिराख्ने उनी अहिले सामान्य हिँड्डुल गर्छन् । आश्रमका अभियन्ताले साइँलालाई सडकमा अलपत्र भेटेपछि उद्धार गरेर आश्रममा ल्याएका थिए । आश्रमले साइँला जस्तै सहारा गुमाएर सडकमा अलपत्र परेका व्यक्तिलाई उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको छ । साइँला (ओमबहादुर विक) को घर र आफन्त नै पत्तो नलागेपछि पारिवारिक मिलनको तत्काल सम्भावना देखिन्न । उनले आश्रममै पारिवारिक वातावरणमा दैनिकी गुजारिरहेका छन् ।

आश्रमका अभियन्ता र बाहिरी व्यक्तिको प्रेम र हौसला पाइरहेका छन् । दाताहरुको सानो–सानो सहयोग जुटाएर चलिरहेको आश्रममा साइँला जस्तै १६ जना असहायले आश्रय पाइरहेका छन् । केही मानसिक सन्तुलन गुमाएका छन्, केही परिवार र आफन्त गुमाएका ।

भारत घर बताउने र बङ्गाली बोल्ने मीना आश्रम छिरेको पनि एक वर्ष पुग्न लागेको छ । गत वैशाख १३ गते आमाको मुख हेर्ने औँसीका दिन उनलाई उद्धार गरेर आश्रम ल्याइएको थियो ।

सडकबाट उठाउँदा मीना एक्ली थिइनन् उनको पेटमा थिइन् ‘सृृष्टि’ जो अहिले आश्रममै हुर्कीरहेकी छिन् । गर्भावस्थाकी मीनालाई धवलागिरी अञ्चल अस्तपालबाट अभियन्ताहरुले आश्रममा ल्याएका थिए । मानसिक सन्तुलन गुमाएकी मीना बाहिरी व्यक्तिको सहयोगमा अस्पतालमा पुगेकी थिइन् । गत जेठ १ गते मीनाको कोखबाट जन्मेकी सृष्टि अहिले आश्रमको हेरचाह र प्रेममा बाँचिरहेकी छिन् । आश्रमले मीनालाई ‘मीना मानव’ को नाम दिएको छ । भारतबाट आएको भन्ने गरे पनि घरपरिवारबाट बेखबर मीनाको कोखबाट जन्मेकी सृष्टिको बुबा को हुन् भन्ने केही पत्तो छैन ।

सम्भवतः सामूहिक करणी या अन्य यस्तै कारणबाट मीना गर्भवती भएको अनुमान लगाइन्छ । केही महिनाअघि आश्रमले मीनाकी छोरी सृष्टिको पास्नी पनि गरिदिएको छ । आमा मीनाभन्दा बढी आश्रमकी अभियन्ता लामासँग सृष्टिले समय बिताउने गरेकी छिन् । भारत, विहार घर बताउने महेश कुमारले आश्रम आएपछि आफ्नो मुहार नै फेरेका छन् । मानसिक सन्तुलन गुमाएका महेश आश्रम आएपछिको हेरचाह र उपचारले निको हुँदै गएका छन् ।

सडकमा बेवारिसे अवस्थामा उद्धार गरिएका उनलाई आश्रम व्यवस्थापन पारिवारिक मिलन गराउने तयारीमा छ । मानसिक रोगको औषधोपचारपछि महेश निको हुँदै गएको आश्रमका संयोजक नवराज केसीले बताए । “हामीले उद्धार गरेका केही व्यक्तिको पारिवारिक मिलन भइसकेको छ”, संयोजक केसीले भने ।

मानवसेवा आश्रममार्फत हालसम्म नेपालबाट १६ जना भारतीयको पारिवारिक मिलन भएको उनको भनाइ छ । मानिसक रोगबाट ग्रसित व्यक्तिको उपचारका लागि मानसिक रोग विशेषज्ञलाई नै आश्रममा बोलाउने गरिएको छ ।

मनोरोग, अपांगता, गरिबी जस्ता कारणले सहाराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताए । रायमाझीलगायत केही युवाले बागलुङमा आश्रम खोल्नका लागि पहल गरेका थिए । उनका अनुसार आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनका लागि देशविदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् ।

यस्तै, सरकारी, गैरसरकारी संघसंस्था तथा निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । गोविन्द टण्डन संस्थापक संरक्षक रहनुभएको आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । बागलुङसँगै मानवसेवा आश्रमका देशभरमा गरी आठवटा शाखा सञ्चालनमा छन् । मानवसेवा आश्रमले सफलता पाउँदै गएपछि देशका अन्य जिल्लामा पनि विस्तार गर्ने योजना रहेको आश्रमका अभियन्ताहरुले बताएका छन् । कास्की जिल्लाको पोखरामा आश्रम स्थापनाका लागि तयारी अघि बढेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button