शुक्ला गण्डकीमा युआरएलको शिविर, ३०५ जनाको निःशुल्क रगत जाँच

पोखरा न्युज – ०५ फागुन  ।

पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ ।

शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने, ‘जसरी जीवनशैली र खानपान परिवर्तन भएको छ, नयाँ चुनौती थपिएका छन् ।’

उनले तनहुँको शुक्लागण्डकी क्षेत्रमा थाइराइड र मधुमेहका बिरामी अन्यत्र भन्दा बढी पाएको सुनाए । उनले विभिन्न सामाजिक संघ, संस्थालाई यी रोगबारे सचेतना, निःशुल्क जाँच र नयाँ कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले प्रदेश ४ का विभिन्न जिल्लामा निशुल्क शिविरहरु आयोजना गर्दै आएको उल्लेख गरे । अति संवेदनशील रक्त परीक्षण, अन्तर्राष्ट्रिय स्तरको प्रविधि र रियजेन्ट प्रयोग गरी प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने दिशातर्फ आफूहरु लागिरहेको बताए । उनले चाडै नै शुक्लागण्डकीमा निःशुल्क थाइराइडसम्बन्धी रक्त परीक्षण शिविरसमेत गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा क्लबका चार्टर प्रिसिडेन्ट दुर्गाकुमार श्रेष्ठ र तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले पनि बोलेका थिए ।

लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनका अध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष प्रदीप थापा, आस्थापाठ द्वितीय उपाध्यक्ष लालबहादुर श्रेष्ठ र सञ्चालन सचिव कमल गैरेले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button