म्याग्दीमा तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

पोखरा न्युज – ०६ फागुन ।

म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक-शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

‘तातोपानीको कमाईको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलब बाहेक अन्य शिर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भने ।

उनले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलबभत्ता २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिए।

शिक्षकको तलबभत्ता वाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताए । ‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’ प्रअ बानियाँले भने ।

विद्यालयलाई तातोपानी कुण्ड वरदान सावित भएको छ’ प्रअ बानियाँले भने । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालन लगायतका योजनामासमेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको उनले बताए । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत् सो विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।

जमिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोलालगायत विभिन्न रोग निको हुने जनविश्वास छ । ती रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामीहरु यो कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button