नाटक ‘सिरुमारानी’ लाई पोखरेली दर्शकको पुरस्कार

पोखरा न्युज – ०६ फागुन ।

अपेक्षा गरेको भन्दा बढी सन्तुष्टी मिलेपछि पोखरेली नाट्यप्रेमीको उत्साहमा वृद्धि भइरहेको छ । नाटक हेरेपछि नाट्यप्रेमीले कलाकारको अभिनयको तारिफ गर्दै नाटक हेर्न आग्रह गरिरहेका छन् । त्यसैलेत दिन प्रतिदिन थिएटर हलमा नाटक हेर्न पुग्नेहरुको भिड बढ्दै गएको छ ।

पोखरा थियटरद्धारा प्रदेश नं. ४ को पहिलो नाटकघरको रुपमा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ फागुन २ देखि गते मञ्चन भइरहेको छ । नाटक हेर्न पुगेका दर्शकले कलाकार तथा थिएटरले गरेको मेहनत देखि प्रफुल्लित हुँदै पुरस्कार स्वरुप रकम दिन थालेका छन् । यसले कलाकारमा थप हौसला बढेको छ । हङकङ बस्दै आएकी जुना गुरुङ पोखरा आएको समयमा नाटक हेर्न पोखरा थिएटरमा पुगिन् । एकचित्त भएर नाटक हेरीन् । नाटकमा गरेको कलाकारको मेहनत, थिएटरको व्यवस्थापन लगायतबाट प्रभावित बनेकी उनले नगद १० हजार पाँच रुपैया पुरस्कार स्वरुप प्रदान गरिन् । यसैगरी पोखरा लेकसाइडका गोपालकृष्ण सग्रौलाले आफ्नो फेसबुक मार्फत नाटक मन परेको भन्दै तीन हजार रुपैयाँ दिने घोषणा गरे । सामाजिक सञ्जालमार्फत नाटकको बारेमा तारिफ गर्दै पोखरामा थिएटर सञ्चालनमा खुशी व्यक्त गर्नेहरु बढ्दैछन् ।

नाटकमा कथावाचक वृद्धको रुपमा लक्ष्मण डुम्रे र कथावाचक वृद्धाका रुपमा बबिता मल्ल ठकुरीले आफ्नो अभिनयकला देखाएका छन् । १८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङ माछेको भुमिकामा देखिदै कथालाई न्यााय गरेकाछन् । सिरुको भुमिकामा देखिएकी सिमा गुरुङले नाटकलाई ओजदार बनाउन कडा मेहनत गरेकी छन् । राजाको भुमिकमा देखिएका पोखरेली नाट्य क्षेत्रका एक हस्ती प्रकाश घिमिरेको युवा जोश नाटकको आर्कषण थप्ने अर्को पाटो बनेको छ । युवराजको भुमिकामा देखिएका विष्णु गौतमले आफ्नो अभिनयमा निखारता प्रदान गर्दै दर्शकको ध्यान खिच्न सफल बनेका छन् । ढाक्रे तथा महामन्त्रीको भुमिकमा देखिएका दिल प्रसाद गुरुङ, सेनापतीको भुमिकामा देखिएका रमेशबाबु तिमल्सिना, राधादासी बनेकी अन्जू दाहाल, सुन्दरी बनेकी प्रसूना भण्डारी, गोरेको भुमिकामा देखिएका सचिन गिरी, सैनीकको भुमिकामा शरद भण्डारी र सूर्य सुवेदी, द्धारे सैनिक ध्रुव पौडेल, ब्रम्हर्षी अविराज बी.सी., सहेलीको भुमिकामा देखिएका सम्झना सिर्पाली, राज गुरु बनेका विश्वराज पौडेल, बालकलाकारको रुपमा सौरभ र सिञ्जल भट्टराईको अभिनय नाटक उत्कृष्ट बन्नुको अर्को पाटो हुन् । धनबहादुर गायकको वाजाको धुन अनि नाटकमा प्रयोग गरिएको गीतसंगीतले पोखरेली रगंमञ्चलाई माया गर्नेहरुको नाट्य तृष्णा मेटाउने थप खुराक बन्छन् । झण्डै दूई घण्टा समय बितेको दर्शलाई पत्तौ हुदैन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् भने थियटरका अध्यक्ष परिवर्तनको संयोजन छ ।

फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ ।

नाटकको कथा यस्तो छ

घना जंगलबीचको कुनै एउटा गाउँमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने एउटा माछे छ । उसको जालमा एक दिन अनौठो प्रकारको माछा पर्छ । माछेले कहिल्यै पनि त्यस्तो माछा देखेको हुँदैन । घर पुगेर आफ्नो पेरुङ्गाबाट त्यो माछा निकाल्दै माछा एक अनिध्य सुन्दरीमा प्रकट हुन्छे । सुन्दरी श्रापित नागराजकुमारी हो भन्ने कुरा माछेले सुन्दरीबाटै थाहा पाउँछ । सुन्दरीसँग माछेले घरजम गर्दछ । उनीहरुको एक छोरी जन्मन्छे– सिरु । छोरी जन्मेपछि सुन्दरी नागलोकनै फर्किन्छे । त्यतिबेला एकजना आँखा नदेख्ने भविष्यवक्ताले सिरु चक्रवर्ती महाराजाकी रानी हुने कुरा भविष्यवाणी गरिदिन्छन् । सिरु १६ वर्षकी हुदाँ गाउँकै ढाक्रेको छोरासँग प्रेममा पर्छे । तर सिरुको विवाह चक्रवर्ती राजासँगै हुन्छ । चक्रवर्ती महाराजाले आफ्नो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको सिरुले दरवार पुगेपछि थाह पाउँछे । ‘आफ्नो पति को हो ?’ भन्ने दुविधामा सिरु पर्छे । उसले आफ्नो दुविधाको समाधान खोज्दा चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ । पोखरेली रगंकर्मी तथा लेखक सरुभक्तद्धारा डेढ दशकअघि लेखिएको नाटक सिरुमारानीमा एउटी नारीले आफुमाथी जबरजस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथा भनिएको छ । लोकशैलिमा लेखिएको नाटक मुलतः प्रेमकथामा आधारित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button