पोखरा-बुटवल सडक छोट्याउन सुरुङ र ‘भायोडक्ट’

पोखरा न्युज – ०६ फागुन ।

नेपालका सडकको प्रमुख विशेषता हो, घुमाउरो, साँघुरो अनि पट्यारलाग्दो । तर, अब सडक विभाग घुमाउरो सडक निर्माण गर्ने परम्परारालाई ‘क्रम भंग’ योजनामा छ । र, यसको सुरुआत पोखरा-बुटवल सडकमार्ग (सिद्धार्थ राजमार्ग)बाट हुनेछ ।

पहाडी क्षेत्रमा अहिलेेसम्म घुम्ती भएका सडकको विकल्प खोजिएको छैन । नदी पार गर्ने मामिलामा पुल राख्ने बाहेक सडक सोझो लाइनमा बनाउन आधुनिक पूर्वाधार बनाइएको छैन ।

वल्लो र पल्लो डाँडाको दूरी निकै छोटो भए पनि न घुम्ती नै घुम्ती भएको सडक बनाएर लामो दूरीको बनाउने अहिलेको अवस्थालाई विभाग कायमै राखिरहने पक्षमा छैन ।

अहिले पोखरा-बुटवल खण्ड १५७ किलोमिटर लामो छ । सडक विभागले अहिले डिजाइन गरेअनुसार यो खण्ड विस्तार भए यो १३७ किलोमिटरमा छोटिनेछ । यसरी सडक छोट्याउन विभागले खोलामा मात्रै पुल निर्माण गर्ने परम्परागत सोचलाई छाड्दैछ, अब छोटो दूरीका डाँडाहरु जोड्न पनि पुल (भायोडक्ट) बनाउनेछ ।

यो खण्डका लागि विभागले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार ९ अर्ब रुपैयाँ खर्च गर्दा यो खण्ड २० किलोमिटर छोटो बन्ने विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

विभागले यो खण्डलाई छोटो बनाउन नेपालमै पहिलोपटक ‘भायोडक्ट’ निर्माण गर्नेछ । सँगै विभिन्न स्थानमा छोटा-छोटा सुरुङहरु पनि निर्माण गरिनेछन् । भालुपहाड लगायतका स्थानमा ४ सय मिटरसम्मका छोटा सुरुङहरु बनाइनेछ । भयोडक्ट पनि ४/५ स्थानमा बन्नेछन् ।

तर, अहिले नै कुन-कुन स्थानमा भायोडक्ट र सुरुङहरु बन्छन् भन्ने जानकारी विभागले दिएको छैन । थोरै संख्यमा भायोडक्ट बने पनि यसले नेपाललाई भौगलिक रुपमा अप्ठेरा स्थाानमा पुलबाटै पहाड जोड्ने प्रविधिमा जान नयाँ ज्ञान दिने विश्वास गरिएको छ । यसले विभामगको आमविश्वास पनि बढ्ने र आमजनताको सडक यात्रा पनि सहज र सुरक्षित बन्ने दावी विभागको छ ।

भायोडक्ट प्रविधि अहिलेसम्म नेपाली सडकमा प्रयोग भएको छैन । घुम्तीयुक्त सडक निर्माण गर्नुपर्ने स्थानमा अग्ला पिल्लरहरु राखेर पुलजस्तै गरी निर्माण गरिने आधुनिक संरचना हो, भायोडक्ट । यो प्रविधि सेनाले डीपीआर बनाइरहेको फास्ट ट्रयाकमा प्रयोग हुुँदैछ । तर, विभागले निर्माण गरेका सडकमा यो प्रविधि पहिलोपटक प्रंंयोग गर्न लागिएको हो ।

यसलाई विभागले अत्याधुनिक प्रविधिमा जाने अभ्यासका रुपमा प्रयोग गर्दैछ । अग्ला पहाडरुलाई जोड्न पनि विदेशमा यस्ता प्रविधि प्रयोगमा ब्यापकता आएको छ । भौगोलिक अवस्था असहज भए पनि महंगो पर्ने भएकाले नेपालले यसमा जान आँट गरेको छैन । तर, अब बुटवल-पोखरा खण्डमा भने यसको प्रयोग गर्न प्रस्ताव गरिएको महाशाखा प्रमुख श्रेष्ठले बताए । यो आयोजनामा सघाउन विभागले विभिन्न दातहरुलाई आग्रह गर्दै आएको छ । हालै विश्व बैंकलाई पनि विभागले बुटवल-पोखरा खण्डमा सघाउन आग्रह गरेको छ । यो खण्डमा भायोडक्ट मात्रै हैन, विभिन्न स्थानमा सुरुङमार्ग पनि डिजाइन गरिएको छ । यो डिजाइनअनुसार सडक बनेमा पोखरा-बुटवल सडकखण्डका विभिन्न ठाउँमा सुरुङभित्रबाट गाडी चल्नेछन् ।

‘अब धेरै घुम्ती राख्नुपर्ने मुख्य स्थानमा भायोडक्ट निर्माण गर्नेछौं । स-साना पहाड छिचोल्न छोटा-छोटा सुरुङहरु बन्छन्,’ श्रेष्ठ भन्छन्,’यो खण्डलाई आधुनिक रुपमा विकास गर्ने लक्ष्य छ ।’

पोखरा-बुटवल सडकखण्ड अहिले एक लेनको मात्रै छ । यसले सडक साँघुरो भएका स्थानमा दुईतर्फी सवारी आवातजावतमा निकै समस्या छ । धेरै घुम्ती भएकाले यो सडकखण्डमा ड्राइभिङ पनि सहज छैन । यात्रा गर्नेलाई पनि शारीरिक रुपमा सास्ती छ । अब विस्तार भएपछि यो दुई लेनको हुनेछ । करिब ९ मिटर फरकानलिो सडक बन्नेछ । जसमा एउटा गाडी बाटोमै बिग्रिए पनि आवात-जावत गर्न समस्या नहुने विभागका इन्जिनियर अजयकुमार मुलले जानकारी दिए । विस्तार भएपछि सडकका दुई लेन ३.५/३.५ मिटरको हुनेछ ।

सडकको दुबैतर्फको छेउ भागमा दायाँबायाँ एक-एक मिटर पनि पातलो पीच गरिनेछ । जसले सवारीलाई साइडमा लैजान सहज हुन्छ । यो सडक खण्डमा पर्ने वस्तीहरुमा ‘सर्भिस लेन’ बनाउने योजना भने छैन । ‘२० किलोटिमर सडक छोट्याउन विभिन्न स्थानमा पुल र सुरुङहरु बन्छन्, यो सडक ४०/५० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी चलाउन सकिने गरी विस्तार हुन्छ,’ मुलले भने ।

यो सडक रणनीतिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । चीनसँगको कोरला नाकसम्म जोड्न उत्तर दक्षिण कोरिडर निर्माण भइरहेकाले यो खण्डलाई सहज रुपमा सवारी आवागन गर्न सक्ने बनाउन आवश्यक रहेको महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् । ‘भारतसहित लुम्बिनी, पोखरा, मुक्तिनाथ हुँदै कोरला नाकासम्म सहज सडक सञ्जाल विस्तारको योजनामा यो निकै सहयोगी सिद्ध हुनेछ,’ श्रेष्ठ भन्छन्,’यो सडकको विस्तारले मानसरोबरसम्म पुग्न पनि उत्कृष्ट विकल्प दिनेछ । त्यसैले यो धार्मिक पर्यटनका हिसावले महत्वपूर्ण छ ।

सँगैभैरहवा र बुटवललाई पर्यटकीय पोखरासँग पनि जोड्ने भएकाले ब्यापारिक रुपमा पनि सडक विस्तारले निकै महत्व राख्नेछ ।

स्रोत : अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button