प्रदेश ४ को उप–सभामुखमा शर्मा निर्वाचित

डिएनबी, पोखरा न्युज – ०६ फागुन ।

नेकपा एमालेकी सांसद सृजना शर्मा प्रदेश नम्बर ४ को उप–सभामुखमा निर्वाचित भएकी छिन्। पोखराको नदीपुरस्थित प्रदेशसभाको बैठकमा आज (आइतबार) भएको मतदानमा शर्माले ३८ मत ल्याउदै विजयी भएकी हुन। उनका निकटतम प्रतिद्धन्दी कागेंसकी सांसद मनकुमारी गुरुङले १८ मत ल्याएकी हुन । बाम गठवन्दनले सहयोग गरे पछि शर्माले २० मत अन्तरले उपसभामुखमा निर्वाचित भएकी हुन ।

एमाले प्रदेश कमिटीको सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत रहेकी एमाले सांसद शर्मालाई एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश ४ प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेकी थिइन। उपसभामुखको लागि गोरखाकी एमाले प्रदेश कमिटीको सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत रहेकी गुरुङलाइ विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थनमा उम्मेदवारी दिएकी थिइन् ।

शर्मासँगै एमाले सांसद मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि उपसभामुखमा चर्चा चले पनि अन्ततः शर्मालाई आज बिहानको एमाले संसदीय दलको बैठकले उपसभामुखमा सिफारिस गरेको बताइन्छ । शर्मा राष्ट्रपतिका प्रेस सल्लाहकार एवं अग्रज पत्रकार माधव शर्माकी धर्मपत्नी हुन् । यस अघि सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानिक प्रावधान अनुसार प्रदेश ४ मा गठन भएको छ ।

६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ । एमालेको समर्थनमा मनाङबाट प्रदेश सभा सदस्य बनेका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने ज्यान मुद्धामा दोषी ठहर भइ हालसम्म फरार छन् ।

यसैबिच, निर्वाचित उपसभामुख शर्माले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै देश नयाँ संघिय संरचनामा गएकोले पहिला आफुहरुको ध्यान कानुन बनाउने तर्फ केन्द्रित हुने बताइन। प्रदेश नम्बर ४ को आर्थिक विकास र समृद्धिको लागि कानुनी हिसावले सहज पार्ने गरी आफुहरुले धेरै कानुन ल्याउनु पर्ने उनले बताईन। उनले भनिन “ पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्रदेशको समृद्धि र यहाँका जनताको अधिकार प्राप्तिका लागि म लाग्ने छु । ” हाल आफु एमालेबाट उपसभामुखमा निर्वाचित भए पनि अब आफ्नो भूमिका साझा व्यक्तिको रुपमा रहेर प्रदेश र यहाँका जनताका पक्षमा काम गर्ने उपसभामुख शर्माले बचन दिईन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button