पर्वतमा स्वास्थ्य शिविरबाट १ हजार ३०० भन्दा बढी लाभान्वित

पोखरा न्युज – ०७ फागुन ।

पर्वतको एक विकट गाउँमा आयोजना गरिएको तीनदिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्लाको निसिखोला गाउँपालिका–३ बोहोरागाउँमा तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया सहितको आँखा तथा पाठेघरसम्बन्धी स्वास्थ्य शिविरमा एक हजार ३०४ जनाले उपचार गराएका हुन् । संवेदनशील अंगका रुपमा रहेको आँखामा विभिन्न खाले समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका झण्डै आठसय सर्वसाधारण उक्त शिविरबाट लाभान्वित भएका छन् ।

त्यसैगरी, ५३५ जना महिलाको पाठेघरको परीक्षण गरिएको छ भने शिविरमा झण्डै ६० जनाको मोतियाबिन्दुको शल्यक्रियासमेत गरिएको छ । फागुन ३, ४ र ५ गते गरी तीन दिनसम्म आँखा तथा पाठेघरको निःशुल्क परीक्षण तथा शल्यक्रिया स्वास्थ्य शिविर सञ्चालन भएको हो । गरिबी निवारणका लागि शान्ति र विकास संस्थाको आयोजना, ह्याण्ड्स फर नेपाल संस्थाको संयोजन र भिजन–२०२० संस्थाको प्राविधिक सहयोगमा सम्पन्न भएको छ ।

उक्त शिविर सञ्चालन भएपछि आर्थिक अभावका कारण लामो समयदेखि आँखा र पाठेघर रोगबाट ग्रसित सर्वसाधारण लाभान्वित बनेको ह्याण्ड्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

आँखा रोग विशेषज्ञ डा कमलबहादुर खड्काले शरीरका अन्य भाग कमजोर भए पनि मानिसलाई जिउन सहज हुन्छ तर आँखामा अन्धोपना आउनु भनेको मरेतुल्य हुनु जस्तै भएको बताए । उनले आँखाको रोग लामो समय पालेर बस्न नहुँने बताउँदै सामान्य समस्या हुने बित्तिकै पनि परीक्षण गर्न सुझाव दिएका छन् ।

शिविरमा आँखा विशेषज्ञहरु डा कमलबहादुर खड्का र डा राजेश शर्माका साथै पाठेघर विशेषज्ञहरु डा आयुशी श्रेष्ठ र डा बिनु श्रेष्ठको नेतृत्वमा आँखा तथा पाठेघरको परीक्षण तथा शल्यक्रिया गरिएको गरिबी निवारणका लागि शान्ति र विकासका अध्यक्ष टेकराज पौडेलले बताए ।

त्यस्तै, महिलाको पाठेघर सम्बन्धी विशेषज्ञ डा बिनु श्रेष्ठले यस्तो विकट ठाउँमा जनचेतनाको अभावका कारण महिलाको पाठेघरमा धेरै समस्या आएको बताए । उनले भने, “गरिबीका कारण पुरुषहरु विदेश जाने भएकाले महिलाले जस्तोसुकै काम पनि गर्नुपर्ने, व्यक्तिगत सरसफाइमा कमी हुनु, सुत्केरी तथा महिनावारीको बेला पर्याप्त आराम र पोषिलो खानाको कमीले गर्दा यो क्षेत्रका महिलामा पाठेघरको समस्या धेरै आएको छ ।”

विकट गाउँमा एकातिर गुणस्तरीय स्वास्थ्य सेवाको अभाव र अर्कोतिर महिलाले आफ्नै स्वास्थ्यमाथि जानी वा नजानी खेलबाड गर्दा अधिकांश महिला पाठेघर रोगबाट ग्रसित बनेको चिकित्सकले बताएका छन् ।

यसअघि विकट गाउँमा पहिलोपटक स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गरेको भन्दै स्थानीयवासीले चिकित्सक तथा आयोजकलाई बाजागाजासहित स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button