निर्वाचन प्रक्रिया जनमैत्री बनाउँदै जानुपर्छ – प्रम

पोखरा न्युज – ०७ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिजन्य विषयप्रति प्रकट भएका जनताको टिप्पणीलाई ध्यान दिन र सच्याउन आवश्यक रहेको बताएका छन् ।

दोस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा सोमबार आयोजित समारोहमा उनले भने, “आगामी दिनमा आयोग सबैसँग सुमधुर सम्बन्ध र समन्वय हासिल गर्ने कार्यमा आफ्नो विश्वसनीयता अभिवृद्धि गराउन समर्थ हुने अपेक्षा गर्दछु ।”

मुलुकका हालैका सबै निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र निर्वाचनमा प्राप्त अनुभवले निर्वाचन प्रक्रिया थप जनमैत्री बनाउँदै जानुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “अन्तर्राष्ट्रियस्तरमा भएका आवधिक निर्वाचनका मूल्य मान्यतानुरुप स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनको व्यवस्थापन गर्नु नै आयोगको प्रमुख चुनौती रहेको छ ।”

राजनीतिक स्थायित्व र जनताको जीवनस्तर माथि उठाउन अब सबैले देशको दु्रततर सामाजिक र समावेशी आर्थिक रुपान्तरणमा परिचालित हुनैपर्नेमा जोड दिँदै उनले भने, “आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धन गर्दै सुखी नेपाली र समृद्ध नेपालतर्फ हाम्रा पाइला केन्द्रित हुनुपर्छ ।”

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारको अठोट, राजनीतिक दलका नेताको दूरदर्शिता, दलबीचको समन्वय र सौहार्दताले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ठूलो सहयोग पुगेको बताए ।

आयुक्त इला शर्माले मुलुकमा प्रजातन्त्र स्थापनाकै दिन निर्वाचन दिवस मनाउँदा निर्वाचन र आयोगको गरिमा र महत्व बढेको धारणा व्यक्त गरे । आयोगले एक वर्षका अवधिमा स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जुटिरहेको छ । आवधिक निर्वाचनलाई लोकतन्त्रका आधारका रुपमा हेरिने गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button