पोखरामा क्रिकेटर करणलाई सम्मान

पोखरा न्युज – ०८ फागुन ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा क्यानडामाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा खेलका नायक करण केसीलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरा क्रिकेट क्लब (पिसिसी) ले सोमबार एक कार्यक्रमका बीच उनले नेपाललाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न महत्वपूर्ण योगदान पुरयाएकोमा सम्मान गरेको हो । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष उत्सव शाक्य, दुर्गा चन्द, सिद्धार्थ श्रेष्ठ, चन्द्र गुरुङ जिम्मी, गोविन्द प्रधान, विजय भुजेल लगायतले उनलाई खादा, बुके र कदर पत्रका साथ सम्मान गरे ।

क्लबका अध्यक्ष श्रेष्ठले पोखराबाटै खेल्ने केसीले राष्ट्रका लागि महत्वपूर्ण योगदान पुरयाएकोमा खुशी लागेको जनाउँदै यस्त प्रदर्शनको निरन्तरताको अपेक्षा गरे । क्रिकेटर केसीले आफूले राष्ट्रको लागि सक्दो खेल्ने प्रतिबद्धता जनाउँदै क्रिकेटप्रेमी नेपालीको यस्तै साथको आशा गरे ।

बाग्लुङमा जन्मेका केसीले पोखरामा ८ महिनाअघिदेखि राइजिङ पोखरा क्रिकेट एकेडेमी सञ्चालन गरेका छन् । उनको टीम पिसिसीले दुई साता अघि पोखरामा आयोजना गरेको क्रिकेट कपमा उपविजेता टोली हो । केसीले सानै उमेरदेखि क्रिकेट खेलमा मोह जगाउने र खेलाडी उत्पादन गर्ने लक्ष्यले एकेडेमी सञ्चालनमा ल्याएको बताए ।

तीन वर्षअघिदेखि राष्ट्रिय क्रिकेट खेल्दै आएका केसी पछिल्लो समय हिरो बने । क्यानडालाई एक विकेटले जितेको सो खेलमा १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाए । अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए ।

अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एक रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुरयाए । करणको वाहवाही सुरु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button