पोखराको पोल पोलमा ‘दाह्री ग्याङ’

पोखरा न्युज – ०८ फागुन ।

दाह्री पाल्ने र यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ को दोस्रो वार्षिकोत्सव पोलपोलमा डस्टबीन राखेर पोखराका मेम्बरहरुले मनाएका छन् ।

गत वर्ष जेठ अन्त्यतिर पोखरामा दाह्री सौखिन समूह एकीकृत भएपनि फेसबुकमा समूह बनेको मिति अनुसार दाह्री ग्याङको स्थापना दिवस मनाइएको हो । काठमाण्डौं, पोखरा सहित समूह सक्रिय भएका ठाउँमा युवाहरुले विविध कार्यक्रमका साथ मनाएका छन् । पोखरामा स्थापित दिनको अवसरमा भने वर्षेनी रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ ।

पोखरामा १० थान फलामे जालीवाला डस्टबीन पोल पोलमा टाँस गरिएको छ । पोखराका चोक चोकमा डस्टविन राख्ने काम सुरु भएको जनाउँदै दाह्री ग्याङ पोखराले यस कार्यलाई निरन्तरता दिने बताएको छ । अहिले न्यूरोड र सभागृहचोकमा डस्टबिन राखिएको हो । यसअघि विभिन्न संघसंस्थाले बाल्टिन जस्ता डस्टबीन राखेपनि त्यो टिकाउ हुन नसकेको जनाउँदै समूहले यसपटक टिकाउ हुने खालको डस्टबीन राखेको हो ।

‘हामीले चोक चोकका पोलहरुमा डस्टबीन राखेका छौं । सुन्दर शहरमा बस्ने नागरिकका पनि सुन्दर व्यवहार होला भन्ने आशा छ । यस कार्यलाई हामी निरन्तरता दिनेछौं ।’ दाह्री ग्याङ पोखरा संयोजक शेखर गौतमले भने ।

‘स्वच्छ सुन्दर हराभरा, सफा हाम्रो पोखरा’ नाराका साथ सुरु भएको यो अभियानमा फोहोर संकलनमा पोखरा लेखनाथ महानगरपालिकाको साथ रहने अपेक्षा समूहले गरेको छ । सदस्य विक्रम पाण्डेले अन्यथा डस्टबीन भरिएर पनि सरसफाई शाखाबाट फोहोर ननिकालेको खण्डमा मेम्बरहरु आफै उपस्थित भएर फोहोर फाल्ने बताए ।

समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना लगायतका कार्यक्रम गरिसकेको छ । पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् । सोमबारको कार्यक्रमको सञ्चालन सदस्य महेन्द्र पहारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button