दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिँदै

पोखरा न्युज – १२ फागुन  ।

टाँगिया बस्ती व्यवस्थापन हुन नसक्दा राष्ट्रिय गौरबको परियोजनाका रुपमा रहेका दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणमा चुनौती थपिँदै गएको छ ।

प्रदेश नं २ अन्तर्गत बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्ती सबैभन्दा ठूलो बस्ती हो । सरकारले उक्त बस्तीलाई अन्यत्र व्यवस्थापान गर्न ढिलाइ गर्दा विमानस्थल निर्माणमा चुनौती थपिँदै गएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यालय जीतपुर सिमराले जनाएको छ ।

करिब ६५० बिगाहा क्षेत्रफलमा फैलिएको टाँगिया बस्तीमा आठ हजार भन्दा बढी जनसंख्या छ । विस २०३१ तिर सिन्धुली, रामेछाप, काभ्रेलगायतका पहाडी जिल्लाबाट तामागढी क्षेत्रको वन जंगल फँडानीपछि रोपिएका बिरुवा गोडमेल तथा बाली लगाउनका लागि सुकुम्वासीलाई ल्याएर बस्ती बसाएको गाउँ हो– टाँगियाबस्ती ।

विस्तारै यो बस्तीले घनारुप लिएपछि अहिले सोही बस्तीको मध्य भागमा पर्नेभयो– दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग । विमानस्थल क्षेत्रभित्र पर्ने टाँगिया बस्तीको सरकारले उचित व्यवस्थापन गरे मात्र विमानस्थलको निर्माणको काम अघि बढ्ने आयोजना प्रबन्धक रामहरि महर्जनले बताए ।

यो बस्तीमा रहेको एक हजार ४७६ घरधुरी सुकुम्वासी परिवारले सरकारले हामीलाई उचित पुनःवास र मुआब्जा माग गर्दैआएको छ । वर्षौदेखि विकासको पूर्वाधारबाट वञ्चित रहेको टाँगियावासी मुआब्जाबापत आयोजनास्थलको तीन किलोमिटरभित्र भौतिक पूर्वाधारसहित प्रतिपरिवार दुई बिगाहा पाँच कठ्ठाका दरले जग्गा पाउनुपर्ने, घरसार्ने खर्च तथा डेढ वर्षसम्म रासन, पानी, भरनपोषन र एक घर एक रोजगारीलगायत सात बुँदे मागअघि सार्दै आएको छ ।

‘हामी त जीवनभर सुकुम्वासी भएर बाच्यौं’ तर हाम्रो भावी सन्तती सुकुम्वासी भएर बाच्नु नपरोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ – आफ्नो पीडा पोख्दै टांँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले भने– “सरकारले हाम्रो उचित व्यवस्थापन गरे मात्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बाटो खुल्ने छ ।”

विमानस्थल निर्माणको प्रारम्भिकचरणमा साविक कडैया गाउँविकास समिति–८ र ककडी–१ मा नम्बरी आबादी जग्गाको मुआब्जा वितरण प्रक्रिया शुरु भए पनि टांँगियाबस्तीको पुनर्वास र मुआब्जाबारे हालसम्म केही हुननसकेको आयोजनाका वरिष्ठ अधिकृत विजय यादवको भनाइ छ ।

विमानस्थल निर्माणको क्षेत्रमा चार किल्ला छु्याउने काम सम्पन्न भए पनि कोल्हबी नगरपालिका काटगाउँका बासिन्दा मुआब्जाका लागि आयोजनाको कार्यालयमा निवेदन दिने क्रम बढदै गएको छ । नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्ग निमार्णको क्रममा हालसम्म रु १२ करोड खर्च भइसकेको छ । पसहा खोला किनारमा रु सात करोड ५० लाख ५० हजारको लागतमा ७५० मिटर तटबन्ध निर्माणको काम अन्तिमचरणमा पुगेको जनाएको छ ।

विमानस्थल निर्माण गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा रु एक अर्ब ५० करोड विनियोजन गरिसकेको छ । टाँगियाबस्ती जंगल फँडानी गरेर बसेको सुकुम्वासी बस्ती भएकाले हालसम्म सो बस्ती बारे सरकारीस्तरमा कुनै निर्णय हुनसकेको छैन– आयोजनाका अधिकारी भन्छन्– “टाँगिया बस्तीलाई के गर्ने, के न गर्नेबारे सरकारीस्तरमै टुंगो लगाउनु पर्ने हुन्छ ।”

आयोजनाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कार्य अगाडि बढाए पनि टाँंगिया बस्ती व्यवस्थापनबारे हालसम्म सरकारले कुनै निर्णय गर्न नसक्दा चुनौती थपिएको हो । यसप्रति सरकार गम्भीर हुनुपर्ने माग सम्बन्धित निकायको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button