पर्वतमा उत्पादन बढाउन माटो परीक्षण शिविर

पोखरा न्युज – १२ फागुन ।

माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि पर्वतको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ ।

पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले माटो परीक्षण गर्न थालेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

नगरपालिका अन्तर्गतका ११ वटै वडामा खेती गरिँदै आएको ७० भन्दा बढी ठाउँको माटो प्रत्येक वडाको केन्द्रमा ल्याई माटो विशेषज्ञबाट माटो परीक्षण गरिन थालिएको छ । निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति ल्याएको उनले बताए ।

दिगो कृषि उत्पादनका लागि नगर क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख मञ्जु अधिकारीले बताए । माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटोमा अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गरिने छ ।

परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको माटो विज्ञ टुकबहादुर थापाले बताए । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमी हुँदा माटोको सूक्ष्म तत्वसमेत नाश हुँदै जान थालेको उनले बताए । माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्यपदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको हो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button