म्याग्दीको पाउद्वारमा सिस्नो पाउडर उद्योग स्थापना

पोखरा न्युज – १९ फागुन । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् ।

छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले जानकारी दिए ।

अध्यक्ष पुनकाअनुसार दशजना युवाले रु छ लाख पचास हजारको लगानीमा चार महिनाअघि स्थापना गरिएको उक्त उद्योगबाट १५० किलोग्राम भन्दा बढी पाउडर उत्पादन र बिक्री भएको छ । बेनी, पोखरा र काठमाडौँका होटल तथा गाउँमा आउने पाहुनालाई प्रतिकिलो रु चार सयका दरले पाउडर बिक्री गरिएको पुनले बताए । बजारसम्म पु¥याउँदा यसको मूल्यमा ढुवानी खर्च थपिन्छ ।

उद्योग सञ्चालन भएपछि गाउँ नजिकैको पाखो, खेतबारीका कान्ला, खोल्सामा खेरगइरहेको सिस्नोको मुना टिपेर स्थानीयवासीले आम्दानीसमेत गर्न थालेका छन् । सिस्नोको कलिलो मुनालाई टिपेर घाममा सुकाइ मिलमा पिसेर बनाइने पाउडरलाई प्याकेजिङ गरेर बजारमा पठाउने गरिन्छ । उद्योग सञ्चालनका लागि समूहले जग्गा भाडामा लिएको छ ।

जिल्ला युवा समितिको कार्यालयले सो समूहलाई उद्योग स्थापनाका लागि रु पाँच लाख निब्यार्जी रकम उपलब्ध गराएको छ । पहिलो किस्ताबापत रु दुई लाख ५० हजार उपलब्ध गराइएको र दोस्रो किस्ता निकासाको तयारीमा रहेको समितिका अध्यक्ष देवीप्रसाद शर्माले बताए ।

यस वर्ष पनि युवाले सञ्चालन गरेको उद्योग, व्यवसायलाई सहयोग गर्ने कार्यक्रम रहेकाले प्रस्ताव माग गरिएको छ । नियमित रुपमा सिस्नो पाउडर उत्पादनका लागि सोलार डायर राख्ने योजना रहेको अध्यक्ष पुनले बताए ।

कुनै समय गरिबको खानाको रुपमा चिनिएको सिस्नो पछिल्लो समय सहरबजारका धनाढ्य वर्गका मानिसको भान्छाको परिकार बन्न थालेको छ । स्वास्थ्यवद्र्धक र औषधिको रुपमा सिस्नोको पाउडरलाई सुप बनाएर उपयोग गरिन्छ । पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमत्ता वृद्धि गर्ने भएकाले सिस्नोको माग बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button