म्याग्दीमा उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु

पोखरा न्युज – २६ फागुन ।

बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गरेका हुन् । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् ।

रु सात लाखको लगानीमा यो व्यवसाय शुरु गर्नुभएको शर्माले यसअघि १३ वर्ष खाडीमुलुक कतारमा रोजगारी गरेका थिए । “आफ्नै घरपरिवारसँग बसेर गाउँमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यावसायिक बाख्रापालन शुरु गरेको हुँ”, उनले भने, “खसी, बोका, पाठापाठी र बाख्रा बेचेर वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”

एक वर्षको अवधिमा २० वटाभन्दा बढी खसी, बोका र पाठापाठी बिक्री गरिसकेको बताउँदै शर्माले फार्ममा माउ बाख्राको संख्या कम्तीमा १०० वटा पु¥याउने लक्ष्य लिएको भने । उनी लगायत परिवारका अन्य तीन जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।

शर्माले बाख्राको आहारका लागि १२ रोपनी पाखोबारीमा राईखन्यु, बाँसलगायत हिउँदे घाँसका बिरुवा लगाएका छन् भने खेतमा चैं घाँस खेती गरेका छन् । उनले जिल्ला पशुसेवा कार्यालयबाट बाख्रापालनसम्बन्धी आधारभूत तालीम लिएका छन् । फार्मबाट उत्पादित बाख्रा पात्लेखेत, घतान, पिप्ले र बेनीमा बिक्री हुने गरेको छ ।

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close