म्याग्दीमा ‘पुख्यौली’ र ‘करबाकेली’को अनुसन्धान शुरु

पोखरा न्युज – २७ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले म्याग्दीमा बसोबास गर्ने पुन मगर जातिको अमूर्त सांस्कृतिक सम्पदाका बारेमा अध्ययन र अनुसन्धान थालेको छ ।

मन्त्रालय, संस्कृति महाशाखाका कर्मचारी र संस्कृतिविद्को टोलीले अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित पुन समुदायको ऐतिहासिक धार्मिकस्थल करबाकेली थान र पुख्यौली संस्कृतिका बारेमा अध्ययन गर्दैछ । अमूर्त सांस्कृतिक सम्पदाका रुपमा रहेका पुख्यौली नृत्यकला र गीतको अभिलेखीकरण गरी संरक्षण तथा सूचीकृत गर्न स्थलगत अध्ययनका लागि आएको महाशाखाका प्रमुख सहसचिव भरतमणि सुवेदीले बताए ।

नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा र संस्कार भावी पुस्तालाई सहज रुपमा हस्तान्तरण गर्न अभिलेखीकरणसँगै संरक्षणमा सम्बन्धित समुदायलाई जागरुक बनाउने काम भइरहेको बताइएको छ ।

महाशाखाका कर्मचारीसहित संस्कृतिविद् डा पे्रम खत्री, डा भक्त राई, डा मीन श्रीसलगायतको टोलीले गाउँपालिकाका जनप्रतिनिधि, करबाकेली बाबा संरक्षण समिति, मगर अध्ययन केन्द्रका पदाधिकारी र स्थानीय पुख्यौली नृत्य समूहका कलाकारसँग अन्तक्र्रिया गरेको थियो ।

पुन समुदायका पुर्खा करबाकेलीको अवसान भएको मानिने सो स्थानमा समुदायले करौडौ लगानी गरेर करबाकेली, विमला, फिमला, रामचन र कुलचन देवताका मूर्तिसहितको थानलगायत करोडौँका पूर्वाधार निर्माण गरेका छन् । विभिन्न भौतिक प्रमाण र तथ्यका आधारमा सो स्थानमा करबाकेलीको थान बनाइएको संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताए । उनले करबाकेली क्षेत्र र पुख्यौली नृत्यलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्न सो टोलीसँग अनुरोध गरे ।

जन्म, मृत्यु, विवाह, छेवारजस्ता संस्कारगत क्रियाकलापमा पुन मगर समुदायले पुख्यौली नृत्य देखाउने चलन छ । सोरठी भाकामा गाइने गीतको तालमा मादले र मारुनीले समूहमा पुख्यौली नाच्छन् ।

मगर पोशाकमा सजिई कम्मरमा मादल भिरेर बजाउँदै नाच्नेलाई मादले र उनीहरुसँगै महिलाको कपडा तथा गहनामा सजिएर नाच्ने पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठी गाउन र नाच्नका लागि करीब २० जनाको समूह आवश्यक पर्छ । पुराना पुस्ताका कलाकारको निधनसँगै पुस्ता हस्तान्तरण हुन नसक्नु, बसाइँसराइ र आधुनिकताको प्रभावका कारण पुख्यौली लोप हुने अवस्थामा पुगेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले करबाकेली र पुख्यौली संरक्षण तथा प्रवद्र्धनसँगै विश्वसम्पदा सूचीमा सूचीकृत गराउन संघीय सरकारसँग पहल गरिने बताए । अध्यक्ष पुनले गाउँपालिकाको सहयोगमा करबाकेलीमा पुन समुदायको दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री संकलन गरेर संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button