राष्ट्रलाई १००० मूर्ति उपहार दिने मूर्तिकार बराइलीको योजना

पोखरा न्युज – २९ फागुन ।

उर्लाबारी नगरपालिका–६ का ३८ वर्षीय मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुंगाका एक हजार मूर्ति निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए ।

विंस २०६१ मा १० वर्षभित्र ती मूर्ति राष्ट्रलाई दिने घोषणा गरेका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ति निर्माण गर्न सके । निर्मित मूर्तिको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उनले व्यक्त गरेका छन् । उनी जापानमा विश्वकै सबैभन्दा ठूलो ढुंगाको बुद्ध मूर्ति निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुगेका थिए ।

राष्ट्रलाई एक हजार मूर्ति उपहार दिने बराइली २०७२ सालमा रु ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उनंको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ति कोर्दै आएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला  राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तिको सपना पूरा गरेरै छाड्ने उद्घोष गरे ।

उनी भन्छन् “अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ति निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको पाँच वर्ष हजारौ मूर्ति निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामीआमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनीसहित चार जनाले बुद्धको मूर्ति सिर्जना गरिरहेका छन् ।

मूर्ति निर्माणवापत उनलाई दैनिक नेपाली रु १४ हजार आम्दानी भइरहेको छ । उनको नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न  छन्। उनको परिवार भने हाल उर्लाबारी–६ मै डेरा लिएर बस्दै आएको छ । उनको परिवारमा आमा, श्रीमती र एक छोरा छन् । राज्यले के दियोभन्दा पनि राज्यलाई केही दिनुपर्छ भन्ने सोचका साथ अघि बढेका मूर्तिकार बराइली आफूले निर्माण गरेका मूर्तिको व्यवस्थापनको पिरलोमा परेका छन् ।

राष्ट्रलाई एक हजार ढुंगाका मूर्ति दिने फलामे सपना पूरा गर्न सक्छु भन्ने आफूमा विश्वास भए पनि त्यसको व्यवस्थापन समस्या बनेको उनले बताए । निर्माण गरेका मूर्तिको व्यवस्थापनका लागि उनले घर नजिकै वार्षिक रु १५ हजारमा जग्गा भाडा लिएर व्यवस्थापन गर्दै आएका छन् तर वर्षामा आउने बाढीका कारण मूर्ति बगाएर लैजाने चिन्ता छ ।

उनले निर्माण गरिसकेका मूर्ति अहिले सो जग्गामा बनाएको टहरामा छरपस्ट अवस्थामा छन् । आफ्नो आर्थिक अवस्था कमजोर भए पनि राष्ट्रलाई हजार मूर्ति उपहार दिर्ने घोषणा गरेका उनी भन्छन्, “मलाई मूर्ति निर्माणका लागि आवश्यक ढुंगा, औजार र संरक्षणस्थलको व्यवस्था गरेर राज्यले सहयोग गरेको भए म जापान जाने थिइन । ”

करीव १५ वर्ष अगाडि राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ति निर्माण गरेका उनले हालसम्म दुई हजार ५०० भन्दा बढी ढुंगाका मूर्ति निर्माण गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button