कृषिमा वैदेशिक लगानी भित्राउन स्पष्ट नीति आवश्यक

पोखरा न्युज , २९ फागुन ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिको विकासका लागि आवश्यक वैदेशिक लगानी  भित्राउनका लागी  स्पष्ट नीति तय गरिनु आवश्यक भएको बताएका छन् ।

राष्ट्रिय किसान आयोगको आयोजना एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सह आयोजनामा मंगलबार पोखरामा  आयोजित एक कार्यक्रममा श्रेष्ठले अबको युग आर्थिक समृद्धिको युग हो भन्दै देशको अर्थतन्त्रलाई सबल पार्नका लागि कृषिमा परनिर्भरताबाट आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थाको सिर्जना गरिनुपर्ने र सो को लागी वैदेशिक लगानी भित्राउनका लागी  स्पष्ट नीति तय गर्नुपर्ने बताएका हुन् ।

कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा कृषिको आधुनिकीकरण एवम् व्यवसायीकरणका माध्यमबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउँदै वक्ताहरूले स्पष्ट नीति तयार नगरी वैदेशिक लगानी भित्राउँदा त्यसले थप जटिलता ल्याउने धारणा ब्यक्त गरेका छन्  ।

कृषि अर्थविज्ञ वासुदेव काफ्लेले कृषिको विकासका लागि निजी–सरकारी साझेदारीको क्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउँदै राज्यको भूमिका कृषक मैत्री बन्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदीले वैदेशिक लगानीसँगै कृषिजन्य उत्पादनको बजारमा पहुँच बृद्धि हुने  धारणा राख्दै कस्ता ठाउँमा लगानी गर्ने तर्फ भने स्पष्ट नीति तय गरिनुपर्ने उल्लेख गरे  ।

प्रदेश नं ४ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले कृषिको व्यवसायीकरणका लागि राज्यले आफ्नो अनुकुलको नीति बनाएर बैदेशिक लगानी भित्राउनुपर्नेमा जोड दिए । वास्तविक किसानको पहिचान हुनुपर्नेमा जोड दिदै उनले किसानको सञ्जाल एउटै हुनुपर्ने र त्यसका माध्यमबाट कृषि क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालनमा आउनुपर्ने धारणा राखे  ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले कृषि पेशा मर्यादित बन्न नसकेको बताउँदै यो क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे  ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई कृषकमैत्री महानगरपालिका बनाउने बताउँदै यस पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्नुपर्ने बताए  ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले पश्चिमाञ्चल सहितका ४३ जिल्ला प्राङ्गारिक कफिको उत्पादन योग्य क्षेत्र भएको बताउँदै राज्यले कफि खेतीलाई उच्च प्राथमिकतामा राखी पकेट क्षेत्रका रुपमा यसको विस्तार गर्नुपर्नेमा जोड दिए  ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यद्वय भानुभक्त सिग्देल र रविन्द्र केसी, पत्रकार आरसी बराल, मनोहर कडरिया, शिवराज भण्डारी, माया अधिकारी, लोकप्रसाद अधिकारी लगायतले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्दै सरकारले कृषक मैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button