म्याग्दीमा सिँचाइ सुविधा भएपछि १२ महिनानै खेती

पोखरा न्युज – ०१ चैत्र  ।

मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोप्नुभयो । विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाएका हुन् ।

रोका मात्र होइन दुखुबेसीका करिब दुई सय घरधुरी असोजदेखि आकाशे वर्षा नभएपछि जिल्लाका अन्य ठाउँका कृषकलाई जस्तो कसरी खेतीबाली लगाउने भन्ने चिन्ताबाट मुक्त भएका छन् । सिँचाइ विकास सव डिभिजन कार्यालय म्याग्दीले दुखुखोला सिँचाइ आयोजना निर्माण गरेपछि दुखुबेसीको खेतबारीमा बाह्रै महिना नियमित सिँचाइ सुविधा पुगेको हो ।

आयोजनामार्फत दुई सयभन्दा बढी घरधुरीको २५ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले बताए । यसअघि कच्ची नहरबाट पानी ल्याउँदा पानी चुहिएर सिँचाइ गर्न पालो लगाउनुपर्ने समस्या थियो ।

नहर निर्माण भएपछि पानी लगाउनका लागि हुने विवाद हटेको छ । फलफूल र तरकारीको व्यावसायिक खेती गरेर आम्दानी गर्ने वातावरण बनेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ठेक्कामार्फत गत आवदेखि निर्माण शुरु भएको आयोजना लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको छ ।

आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले माघमै काम सकेको सवडिभिजन प्रमुख इन्जिनियर दिनेश आचार्यले बताए । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघि नै काम सकिएको उनको भनाइ छ ।

उक्त आयोजनामार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्सट्रक्सनसँग रु ३० लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । मुख्य नहर बने पनि शाखा नहर र पाइप लाइन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकले बताएका छन् ।

आचार्यले उपभोक्ता समितिमार्फत शाखा लाइन विस्तार गर्ने योजना बनाए पनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताए । उपभोक्ता समितिमार्फत रु १२ लाखको काम गर्ने योजना बनाइए पनि बजेट नआएपछि स्थगित गरिएको उनको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button