स्याङ्जाको विद्यालयलाई ३ रोपनी जग्गादान

पोखरा न्युज – ०४ चैत्र  ।

स्याङ्जाको गल्याङ नगरपालिका–८, तिन्दोबाटेमा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयलाई स्थानीयले निःशुल्क जग्गादान गरेका छन् ।

विद्यालयसँगै जोडिएको तीन रोपनी क्षेत्रफल भएको जग्गा स्थानीय सूर्यबहादुर, वीरबहादुर र प्रकाश श्रेष्ठले विद्यालयको नाममा नामसारी गरिदिएका विद्यालयका प्रधानाध्यापक कुलानन्द खनालले बताए ।

“विद्यालयले थप कक्षा सञ्चालन गर्नका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखियो” जग्गादाता प्रकाश श्रेष्ठले भने, “विद्यालयको सहयोगका लागि हामीले निःशुल्करुपमा जग्गादान गरेका हौँ ।” तीन रोपनी क्षेत्रफल रहेको उक्त जग्गा हाल चलिआएको मूल्यअनुसार रु १० लाखभन्दा बढीको रहेको जग्गादाताको भनाइ छ ।

“विद्यालयलाई प्राप्त भएको जग्गामा अब छिट्टै हामीले पक्की चार कोठे भवन निर्माण थाल्छौँ” विद्यालयका प्रधानाध्यापक खनालले भने, “भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय, स्याङ्जाबाट रु ३६ लाख प्राप्त भइसकेको छ, भवन निर्माण सकिनासाथै तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङको कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।”

विसं २०२६ मा स्थापित उक्त विद्यालय ८ नम्बर वडाकै एउटामात्रै नमूना सामुदायिक विद्यालय हो । सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण घटिरहेका बेला उत्कृष्ट कार्य गरेको भन्दै जिशिका स्याङ्जाले २०६७ सालमा नमूना विद्यालयका रुपमा पुरस्कृत समेत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button