खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

पोखरा न्युज – १२ चैत्र ।

‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ ।

खेलमार्फत पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको हो ।

कोल्पुटारबाट माझगाउँ हुँदै पुनःकोल्पुटार पुग्ने १३.४ किलोमिटर दूरीको पुरुषतर्फ भूमिराज राई प्रथम, किरण बोगटी दोस्रो र विवेक राई तेस्रो भए । महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोस्रो र राजपुरा पछाई तेस्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले जानकारी दिए ।

दौडमा उत्कृष्ट पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र १०० वर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गरे । प्रतियोगितामा महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको थियो ।

यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिताअन्तर्गत २९ जना सम्मिलित ४.५ किमी प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोस्रो र सुवास थापा तेस्रो भए ।

यसैगरी, महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोस्रो र लक्ष्मी थापा तेस्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिए ।

स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिताले यहाँको पर्यटकीयस्थलको प्रवद्र्धन, खेलक्षेत्रको विकास तथा शारीरिक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button