पोखरा आउने पर्यटकको तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरिने मन्त्री अधिकारीको प्रतिबद्धता

पोखरा न्युज – १७ चैत्र । 

पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पोखरा आउने पर्यटक संख्याको तथ्याङ्क राख्ने प्रणलीलाई व्यवस्थित गरिने कुरामा प्रतिबद्धता जनाएका छन्।

प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले पोखरामा कति पर्यटक आउँछन् भन्ने यकिन तथ्याङ्क नभएको औंल्याए। अधिकारीले तथ्याङ्कको प्रणालीलाई सय दिनभित्रै व्यवस्थित गर्ने दावी गरे। अध्यागनसंग मात्र भर नपरी मन्त्रालयले नै तथ्याङ्कलाइै रेगुलेट गर्ने मन्त्री अधिकारीको जोड थियो।

पोखरामा आउने पर्यटकको संख्याको तथ्याङ्क राख्ने कुरामा प्रदेश सरकारले राख्ने मन्त्री अधिकारीले उल्लेख गरे। मन्त्री अधिकारीले केन्द्रीय सरकारले यस क्षेत्रमा आउने पर्यटक संख्याको राख्ने कुरामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। मन्त्री अधिकारीले निकट भविष्यमा सातवटै प्रदेशको पर्यटन मन्त्रीहरुसंग पर्यटनको विकासका लागि बृहत् छलफल गर्ने कार्यक्रम गर्ने बताए।

‘नेपालमै कति पर्यटक आउँछन् ? त्यसको विश्वसनीय तथ्याङ्क छैन। केन्द्रीय तथ्याङ्क पनि तथ्यपरक छैन। हण्ड्रेड डेजमा केन्द्रीय तथ्याङ्कलाई प्रभावकारी बनाउने कार्ययोजनामा राखेको छु। टुरिजमको कन्ट्रिब्युसन पनि राम्रो छैन। जहाजबाट आउने पर्यटकहरुको तथ्याङ्क छ। क्यानबाट नै नागरिक उडड्यन मन्त्रालयमा जाने व्यवस्था गर्नेछौं।’

 

उनले पोखरालाई टुरिजम हब बनाउन अध्ययन भइरहेको बताए। पर्यटकको बसाई लम्ब्याउन आबश्यक पूर्वाधारको छलफल चलिरहेको मन्त्री अधिकारीको भनाई छ।

‘आफू स्वयम्ले पर्यटकीय क्षेत्र पोखराको प्रतिनिधित्व गर्ने भएका कारणपनि यहाँको पर्यटन प्रबद्र्धन र विकासमा परिवर्तन आउने विश्वास सही हो,’ मन्त्री अधिकारीले प्रतिबद्धता जनाए, ‘पोखरालाई पर्यटनको हब बनाएर पोखराबाट पर्यटन सिक्ने वातावरण तयार पार्ने कार्यमा मेरो ध्यान जानेछ।

मन्त्री अधिकारीले पोखरालाई स्पोर्ट्स टुरिजमसंग जोड्नुपर्ने औंल्याए। खेलकुद मन्त्रालयसंगको समन्वयमा पूर्वाधार निर्माणमा पर्यटन तथा संस्कृति, नागरिक उडड्यन मन्त्रालयले ध्यान दिने उल्लेख गरे। ‘खेल र पर्यटनलाई संगसंगै लैजाने मेरो प्रयास हुनेछ,’ मन्त्री अधिकारीले थपे।

मन्त्री बनेको १५ दिनभित्र अधिकारी पोखरा आएका हुन्। मन्त्रालयलाई प्रभावकारी बनाउने चुनौतिहरुको पहिचान गरी सुधारलाई अगाडी बढाउनेतर्फ आफ्नो ध्यान गएको मन्त्री अधिकारीले बताए। विशेषगरी अन्तराष्ट्रिय विमानस्थलको सुधार र यहाँको एअर ट्राफिकको अस्तब्यस्तताको अवस्थालाई सुधार गरिने उनको प्रतिबद्धता छ।

अल्टरनेटिभ एअरपोर्ट बनाउने कुरा रहेको मन्त्री अधिकारीले सुनाए। विमान चल्ने कुरालाई एकैदिन २१ घण्टबाट बढाएर २४ घण्टा पु¥याउने लक्षका साथ काम कारवाही अघि बढेको मन्त्री अधिकारीले बताए। काठमाण्डौं नजिकै डोमेष्टिक जहाज चल्न सक्यो भने एअर ट्राफिकको समस्य केही हट्ने उनको दावी छ।

‘प्रदेशका एअरपोर्टबाट यहीं स्टेशन राखेर काम अघि बढाउने कार्य शुरु भएको छ,’ उनले भने, ‘एकसय दिनभित्र यो व्यवस्था पुरा हुनेछ। यहाँ राती जहाज बस्ने ब्यवस्था हुनेछ। अन्य ठाउँहरुमा पनि यस्तो व्यवस्था गर्दैछौं। क्षेत्रीयस्तरबाट जहाज चलाउन शुरु भएपछि त्यसको वरपर पहाडी ठाउँहरुमा जहाज पुग्नेछ। काठमाण्डौंको एअर ट्राफिकको भीड कम हुनेछ।’

मन्त्री अधिकारीले दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे। अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि भैरहवा र पोखराको विमानस्थलको कार्य अघि बढेको मन्त्री अधिकारीले बताए।

‘धेरै कार्ययोजनाहरु अघि बढाएका छौं,’ उनले भने, ‘कार्ययोजनाहरु असंभव छैनन्। सस्तो प्रचारका लागि होइनन्। हाम्रो प्रतिबद्धताहरुलाई सार्वजनिक गर्ने र पूरा गर्ने जिम्मा हाम्रो हो। ति कार्ययोजनाहरु पूरा भए की भएनन् भनेर हेर्ने काम तपाँईहरुको हो।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button