पोखरामा करिव ११ करोड लगानीमा पहिलो वाटर पार्क ‘बिग स्प्लास’

पोखरा न्युज , २९ चैत।

नयाँ बर्ष २०७५ को आगमनसंगै पोखरामा पहिलो वाटरपार्कका रुपमा ‘बिग स्प्लास’ सञ्चालनमा आउने भएको छ। पोखरा लेखनाथ महानगरपालिका–१४, कुँडहरस्थित बीपीमार्गमा स्लाइड र स्प्लाससहितको वाटरपार्क आर्य दि रिसोर्ट एण्ड फन प्रा.लि.ले करिव ११ करोडको  लगानीमा सञ्चालनमा ल्याउन लागेको हो। २०७५ को बैशाख १ गतेदेखि बिग स्प्लास वाटरपार्क सञ्चालनमा आउँदैछ।

पोखरामा मनोरञ्जनका लागि एउटा नयाँ गन्तव्य र आकर्षण थप्ने उद्देश्यले वाटरपार्क निर्माण गरेको प्रा.लि.का प्रबन्ध निर्देशक अमितराज मुल्मीले बताए। विहिबार आयोजित पत्रकार सम्मेलनमार्फत पोखरामात्र नभई प्रदेश नं ४ कै पहिलो वाटरपार्क रहेको मुल्मीेले दावी गरे।
‘प्राकृतिक मनोरम तालतलैयाको शहर पोखरामा हामीले एउटा पानीमासमेत मनोरञ्जनका लागि थप गन्तव्यको बिकास गर्न सकिने संभावना देख्यौं,’ निर्देशक मुल्मीले भने, ‘यहाँ एउटा नौलो प्रस्तुती स्वरुप बिग स्प्लासलाई निर्माण गरेर पहिलो चरणमा पोखरेलीसमक्ष प्रस्तु गरो हौं।’
पोखराको कोलाहलदेखि बाहिर शान्त र रमणीय वातावरणमा १३ रोपनी क्षेत्रफलको जमिनमा  बिग स्प्लासको निर्माण गरिएको हो। पहिलो संरचना निर्माण गर्न प्रा.लि.लाई १७ महिना लागेको थियो।

बयस्कदेखि बालबालिका लागि स्लाइड्स र पानीका फोहरासहितको सुविधा ‘बिग स्प्लास’मा छ। ‘बिग स्प्लास’को संरचनाबाट पोखरा उपत्यकाको सबै डाँडाकाँडा तथा शान्ति स्तूपा, गुम्बा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालहरुको मनमोहक दृश्यहरु देख्न सकिन्छ।
बयस्कहरुका लागि ३० फिटको उचाईमा रहेको ‘ओपन Çलोट स्लाइड’ बाट ३ सय १० फिट लामो रोमाञ्चक स्लाइडिङ गरी स्प्लास पूलमा उत्रन सकिन्छ। त्यसैगरी, ३० फिटको उचाईमा रहेको १ सय २० फिट लामो पेण्डुलम स्लाइडमा रोमाञ्चक स्लाइडिङ गर्न सकिन्छ। त्यस्तै, १५ फिटको उचाईमा रहेको ६० फिट लामो स्ट्रेइट स्लाइड र वेभ स्लाइडहरुबाट अर्को पूलमा उत्रिन सकिन्छ।

‘बिग स्प्लास’ मा बालबालिकाहरुका लागि छुट्टै प्लेस्टेशन रहेको छ। जसमा बालबालिकाहरुले एकदेखि तीन मिटरसम्मको फरक फरक उचाईबाट स्लाइडहरु गर्न सक्नेछन्। यसको अतिरिक्त पानीमा मनोरञ्जनको लागि मशरुम अम्ब्रेल्ला, कृष्टल एरेना र डाण्डेलियोन पानीका फोहराहरु छन्। बिग स्प्लास वाटर पार्क प्रबेशका लागि ४ फिट अग्लो सम्महरुका लागि डिस्काउण्टसहित ४ सय ३५ र ४ फिटभन्दा माथिकालाई प्रतिब्यक्ति ४ सय ९५ शूल्क लाग्नेछ। ओपनिङ २ फिट ६ ईञ्चभन्दा सानो बच्चाहरुलाई प्रवेश निशूल्क छ। एक पटक प्रवेश टिकट काटेपछि बिग स्प्लासभित्र रहेका सबै स्लाइड्सहरु खेल्न पाउने प्रा.लि.ले जनाएको छ। प्रा.लि.का अनुसार विद्यालयका सामूहिक विद्यार्थीहरुलाई विशेष प्रवेश शूल्कको व्यवस्था गरिएको छ। प्रति टिकट ५ रुपैयाँका दरले सामाजिक सेवाका लागि छुट्याइएको निर्देशक मुल्मीले बताए।

सबै स्लाइड्सहरु फाइबर ग्लास तथा ग्याल्भेनाइज्ड आइरन संरचनाबाट निर्माण गरिएका छन्। स्लाइड्स र स्प्लास निर्माणमा बलियो र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक मुल्मीको दावी छ। निर्देक मुल्मीका अनुसार भवन, टावर तथा सबै संरचनाहरु भूकम्प प्रतिरोधात्मक डिजाइनमा निर्माण गरिएको छ। प्रा.लि.ले प्रतिब्यक्ति ५ लाखको दुर्घटना बीमाको ब्यवस्था गरेको छ।
‘संरचना बलियो र सुरक्षित छन्, सुरक्षा नै हाम्रो प्राथमिकता हो,’ मुल्मीले भने, ‘स्लाइड्सहरुमा सुरक्षा गार्डहरु हरहमेशा रहनेछन्, जसले आलोपालो गरेर मात्र प्रवेश गराउनेछन्। सुरक्षाको दृटिकोणले गर्दा हामीले सानो स्लाइड्सहरुमा एक पटकमा एक जना र ठूलो स्लाइड्सहरुमा एकपटकमा एउटा ट्युबमा मात्र जान दिनेछौं।’ट्युबहरु सिङ्गल र डबल छन् र जसलाई स्लाइड्स अनुसार प्रयोग गर्न सकिनेछ। पूलमा जानुअघि र स्लाइड्स गर्नुअघि सबैले नुहाएर जानुपर्ने अनिवार्य प्रावधान छ। त्यसका लागि महिला पुरुषहरुका लागि छुट्टाछुट्टै चेञ्जिङ रुमको व्यवस्था छ।

पूल र स्लाइड्समा प्रयोग हुने सबै पानीहरु जमिनमुनीबाट सय मिटर बोरिङ गरी निकालिएको र विश्वविख्यात ‘इमाउक्स’ कम्पनीको फिल्टर र प्रशोधन प्रविधिबाट पानीलाई निरन्तर उपचार गरी पूर्ण रुपमा सफा तथा सुरक्षित बनाएरमात्र प्रयोगमा ल्याइएको छ।
विगत १० बर्षदेखि महेन्द्रपुलस्थित ख्यातिप्राप्त बिग बाइट फास्टफूडले बिग स्प्लासमा समेत रेष्टुरेन्ट सञ्चालन गरेको छ। रेष्टुरेन्टमा छुट्टै आइसक्रिम पार्लर, कोल्ड ड्रिन्क्स बुथसमेत छ। निर्देशक मुल्मीले भने, ‘जुन रेष्टुरेन्टबाट गुणस्तरिय र हाइजेनिक परिकारको सेवा उपलब्ध गराउनेतर्फ हामी सचेत छौं।’ बिग स्प्लास परिसरमा रहेको युवा लक्षित बिभिन्न किसिमका पूल पार्टी, सांगीतिक कार्यक्रमहरु, फिल्म तथा भिडियो शुटिङ र फोटो शूटका लागि स्थान उपलब्ध गराइने प्रा.लि.ले जनाएको छ। बिग स्प्लास हाल विहान दश बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ला रहने प्रा.लि.ले जनाएको छ। मौसम अनुसार समय परिवर्तन हुनसक्ने जनाइएको छ।

प्रा.लि.का अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणसंगै बिग स्प्लास प्रोजेक्टको नयाँ परिकल्पना भित्राएको बताए। अध्यक्ष मुल्मीका अुनसार, दोस्रो चरणमा आकर्षक स्वीमिङ पूलसहित थप सुविधासहितको रोमाञ्चक स्लाइड्सहरु थपिनेछ। पोखरा विमानस्थलको निर्माण सम्पन्न र अन्तराष्ट्रिय हवाई सेवा शुरु भएपछि यहाँ सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरिने मुल्मीले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button