म्याग्दीको हुलाकीडाँडामा टर्की पालन

पोखरा न्युज – ०३ बैशाख ।

युवाको लहर विदेशतिर बढिरहेका बेला म्याग्दीको सदरमुकाम  बेनीका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् ।

बेनी नगरपालिका हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पक्षी पालन गरेका हुन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका केसीले डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न शुरु गरेका हुन् ।

एक वर्षयता रु दुई लाखभन्दा बढीको टर्की र चल्ला बिक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य रु तीन सयदेखि रु चार सय तथा एक महिना पाल्दा रु एक हजार ५०० पर्छ । चार महिनामा चल्ला दिन शुरु गर्ने टर्की छदेखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ ।

भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि आठ किलोग्राम तौलको हुन्छ । एक किलो टर्कीको मासुको मूल्य रु एक हजार पर्छ । यतिखेर केसी नमूना कृषकका रुपमा चिनिन थालेक छन् । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएका हुन् ।

Loading...

“टर्कीको मासु गाउँमै बिक्री भइरहेको छ,” उनले भने, “बेनीबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् ।”

अण्डा उत्पादनका लागि ५०० लेयर्स जातका कुखुरा पालन गर्दै आएका केसीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन गर्ने योजना बनाएका छन् । एक वर्षमा पूर्ण रुपले तयार हुने पक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ ।

(फाइल फोटो)

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close