भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न माग

पोखरा न्युज – ०७ बैशाख  ।

विश्वसम्पदा दिवसका अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गरेको छ ।

भक्तपुर नगरपालिकाले बिहिबार आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने विषयमा धेरै पटक अध्ययन र सिफारिश भइसकेको जानकारी दिए ।

नेपाल सरकारको नवौँ पञ्चवर्षीय योजना एवं अन्तरिम योजनामा समेत यो बिषयलाई समावेश गराएको भए पनि सरकारले हालसम्म घोषणा गर्न ढिलाइ गरेको बताउँदै उनले सम्पदा संरक्षणलाई मानव सभ्यताको विकासका रुपमा ग्रहण गरी उचित संरक्षण तथा सम्वद्र्धन गरेर यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पुर्खाले स्थानीय सीप, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी बनाइएका उत्कृष्ट कलाकृति अर्थात् सम्पदाको स्याहार, सम्भार र संरक्षण गरी युगौँसम्म जस्ताकोतस्तै राख्न नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिँदै आएको बताए ।

सम्पदा संरक्षणको महत्व नबुझेकालाई ठेक्काको भरमा जिम्मा दिँदा सम्पदा विकृत बन्ने बताउँदै उनले भक्तपुरमा स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षणका कार्य भइरहेको जानकारी दिए ।

ऐतिहासिक र सम्पदाको धनी नगर भक्तपुरबारे नयाँ पुस्तालाई जानकारी दिने हेतुले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी विद्यालयमा यसै शैक्षिक सत्रदेखि लागू गरेको पनि नगरप्रमुख प्रजापतिले बताए ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले ‘पूर्वको रोम’ भक्तपुरका पचपन्न झ्याले दरबार र पाँचतले मन्दिर यसको अनुपम नमूना भएको बताए ।

संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति र सम्पदा मर्दा देशै विलुप्त हुने भएकाले सम्पदालाई छोएर नभई हेरेर सम्मान गर्नुपर्नेमा जोड दिए ।

पुरातत्व कार्यालय भक्तपुरका प्रमुुख मोहनसिंह लामाले विसं २०७२ को भूकम्पपछि भक्तपुर जिल्लास्थित ४६ सम्पदाको संरक्षण योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै तीमध्ये १३ वटा योजना सञ्चालनमा रहेको र छ वटा योजना सम्पन्न भएको जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button