बजेटमा दलितका विषय समावेश गर्न माग

पोखरा न्युज – १० बैशाख ।

आगामी आर्थिक वर्ष २०७५-०७६ को बजेटमा दलित समुदायका विषयलाई समावेश गर्नुपर्ने माग गरिएको छ ।

विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित नेता तथा दलित नागरिक समाजको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा युवराज खतिवडालाई १७ बुँदे ज्ञापनपत्र बुझाउँदै संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न आधारभूत योजना, नीति तथा कार्यक्रमको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेकपा (एमाले) का नेता जीतु गौतमले संघीय, प्रदेश र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेट विनियोजन गर्दा दलित समुदायको विषयलाई प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिए । समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियारले कृषि, पशुपालन, उन्नत तरकारी खेती र सरकारी क्षेत्रमा व्यावसायिक ढंगले लाग्न प्राथमिकताका साथ साधनस्रोत प्रबन्ध गरिनुपर्ने माग गरे ।

सो अवसरमा डा खतिवडाले दलितभित्र पनि दलित महिला र गरिब तथा बढी उत्पीडनमा पारिएको दलित समुदायलाई महत्व दिइने बताए । प्रतिनिधिमण्डलमा नेकपा (माओवादी केन्द्र) का नेता तिलक परियार, प्रतिनिधिसभा सदस्य अञ्जना विशंखे, दलित नेता डा बुद्धि नेपाली, सीताराम घले परियार र मोली नेपाली थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button