कमल र राजुलाई ३५ डबल्सको उपाधी

पोखरा-

कमल भण्डारी र राजु श्रेष्ठको जोडीले पोखरा रंगशालामा जारी १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको डबल्सतर्फको उपाधी जितेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा उनीहरुले आत्माराम कार्की र राजु श्रेष्ठ(गोर्खा)को जोडिलाई ६–२, ६–३ ले पराजित गर्दै उपाधी आफ्नों नाम गराएका हुन् । त्यस्तै ४५ वर्ष माथिको डबल्सतर्फको उपाधी सुवर्ण ढाक्वा र कृष्ण घलेले जिते । उनीहरुले डेगेन्द्र श्रेष्ठ र राजु क्षेत्रीको जोडीलाई ६–२, २–६ र सुपरटाईमा १०–७ को संघर्षपूर्ण सेटमा पराजित गरेका हुन् ।

ट्रयाक्युलिटी स्पा मुख्य प्रायोजक रहेको प्रतियोगिताको ५५ वर्ष माथि डबल्सको उपाधीमा मनोज राणा र झ्याम्बा धुन्डुपको जोडिले आफ्नों नाम लेखाए । यो जोडिले फाइनल खेलमा करिम मुल्ला मुसलमान र कर्मा घलेको जोडिलाई ६–२, ६–४ को सेटमा पराजित गरेको हो । ६५ वर्ष माथिको एकलतर्फ भरत रायमाझिले डा.इन्द्रजित राईलाई ४–२ र ५–४ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे ।

यता, ३५ वर्ष माथिको एकलतर्फ उपाधीका लागि कमल भण्डारी र श्रीराम मगरविच प्रतिस्पर्धा हुने भएको छ । आइतबार भएको सेमिफाइनलमा कमलले राजु श्रेष्ठलाई ६–०, ६–३ मा तथा श्रीरामले आत्माराम कार्कीलाई रिटायर्ट हर्टमा पराजित गरे । पहिलो सेट श्रीरामले ७–६ ले आफ्नों पक्षमा पारेका थिए । त्यस्तै ४५ वर्ष माथिको एकलतर्फ कृष्ण घले र राजु श्रेष्ठ उपाधीका लागि भिड्ने भएका छन् । कृष्णले प्रदिप शाहलाई ६–१, ६–० ले पराजित गरे । राजु श्रेष्ठले सुदर्शन विष्टमाथि २–६, ६–४ र सुपरटाईमा १०–५ को कठिन जित निकाल्दै अन्तिम दुईमा स्थान सुरक्षित पारेका हुन् । त्यस्तै ५५ वर्ष माथिको एकलमा मनोज राणाले प्रदिप शाहलाई ६–२, ६–१ म पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।यसअघि सम्पन्न सातौं राष्ट्रिय टेनिस प्रतियोगितामा पश्चिमाञ्चलले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण जितेपनि खुल्ला भेट्रान्समा भने पोखरा रित्तो हात हुने निश्चित भएको छ । प्रतियोगितामा पोखराले कुनैपनि इभेण्टमा उपाधी जित्न सकेन । विगतका संस्करणहरुमा केहि उपाधीहरु जित्ने पोखराका खेलाडीले यसपटक सेमिफाइनल पार गर्न सकेनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button