सवारी दुर्घटनामा २ जनाको मृत्यु , पोखराका २ जना सहित ६ घाइते, मिनीट्रकले जोगायो धेरैको ज्यान

काठमाडौं ।

शुक्रबार दिउँसो काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट घाइते भएका २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, बा १ ज ७९६७ नम्बरको ट्याक्सी चालक काभ्रेका कान्छा लामा र मिनीट्रकका चालक झापाका डम्बर पोखरेलको मृत्यु भएको हो । लामाको बयोधा अस्पतालमा र पोखरेलको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

घटनामा ट्याक्सीमा सवार चार जना यात्रु घाइते भएका छन् । काठमाडौं बालुवाटारका एरिक आले, अञ्जु आले, पोखराकी कृष्णा थापा र उनका छोरा त्रिविन थापा घाइते भएका छन् । उनीहरु सबैको जयबागेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकका मालिक किशोर अधिकारी पनि घाइते भएका छन् । उनको ओम समाज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रककै ठक्करबाट स्कुटर चालक काठमाडौं चन्द्रागिरीका बाल कृष्ण ढकाल पनि घाइते भएका छन् । गम्भीर घाइते भएका ढकालको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकले जोगायो धेरैको ज्यान

डीएसपी पंगेनीका अनुसार, थानकोटबाट कलंकीतर्फ गुडेको ट्रकको गुर्जुधारास्थित काठ गोदाम नजिकै आएपछि ब्रेक फेल भएको देखिएको छ । त्यहाँबाट ट्रकले सुरुमा कलंकीतिरै आइरहेको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालक उछिट्टिएर बाँच्न सफल भएका छन् ।

स्कुटरलाई हानेपछि अनियन्त्रित भएको ट्रकले अर्को साइडमा गएर थानकोटतर्फ जाँदै गरेको ट्याक्सीलाई ठक्कर दियो । सो क्रममा ट्याक्सी कच्याककुचुक भयो । त्यसपछि ट्रक सीधै विपरीत दिशाबाटै आइरहेको मिनीट्रकमा गएर ठोकिएपछि रोकिएको थियो ।

ट्रकको ठक्करबाट पछाडि धकेलिएको मिनीट्रकको ठक्करबाट पछाडिबाट आइरहेको मोटरसाइकल पनि ढलेको थियो ।

‘ब्रेक फेल भएपछि ट्रक पूरै अनियन्त्रित भएर गएको देखिन्छ, करिब ४—५ सय मिटर गुडेपछि मिनीट्रकमा ठोकिएर रोकिएको छ’ डीएसपी पंगेनीले भने, ‘मिनीट्रकले धेरैको ज्यान बचाएको छ ।’

ट्रक चालक नवलपरासीको भएको खुले पनि पहिचान खुलेको छैन । उनको खोजी भइरहेको छ । ट्रकका मालिक भने अस्पताल पुगेको प्रहरीले जनाएको छ ।

स्रोत – अनलाइनखबर –   https://www.onlinekhabar.com/2017/03/558046/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button