दुबईमा तय भएको एसियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट नेपालमा हुने

पोखरा न्युज-

एसियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी क्रिकेट कन्ट्रोल बोर्ड अफ चन्डिगढ पञ्जाबले असार ५ गतेदेखि प्रतियोगिता गर्ने बताएको छ । उसका अनुसार यो प्रतियोगिता दुबईमा हुने तय भएको थियो तर, अन्तिम क्षणमा नेपालमा सारिएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । जसमा तिलकरत्ने दिल्सान कप्तान रहेको इण्डियन स्टार, परवेज महारुफ कप्तान रहेको लंकन लायन, अलअमिन हुसेन कप्तान रहेको बंगलादेश टाइगर, साब्निल पाटिलको कप्तानीमा नेपाल स्ट्रोम, अब्दुल सकुरको दुबई बारियर्स र रानानविद उल हसनको कप्तानीमा अफगान बुल्स छन् ।

खेलाडी किनबेचका लागि भोलि अक्सन हुनेछ । अक्सनमा १०८ खेलाडी छन्, जसमध्ये ९० छानिनेछन् । अक्सनमा रहेका खेलाडीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’को ३० हजार, ‘बी’को २० हजार र ‘सी’ समूहमा रहेका खेलाडीको न्यूनतम मूल्य १० हजार भारु तोकिएको छ । हरेक टोलीमा दुई जना यू-१९ र दुई जना अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी अनिवार्य गरिएको छ ।

लिग चरणबाट उत्कृष्ट ४ टिम सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको बिजेताले २५ लाख भारु पाउनेछन् भने उपबिजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारु पाउनेछन् ।

हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार भारु र मोस्ट भ्यालुएबल प्लेयरलाई सामसुङ मोबाइल दिइने छ । म्यान अफ दि सिरिजलाई कार पुरस्कार राखिएको छ ।

विभिन्न देशका उदयीमान खेलाडीलाई अवसर प्रदान गर्ने र क्रिकेटको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदको पनि सहयोग रहनेछ भने सोनी सिक्स टेलिभिजनले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

स्रोत – अनलाइनखबर    https://www.onlinekhabar.com/2017/06/596739/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button