बाबा साहित्य साधक पुरस्कार श्रेष्ठलाई

पोखरा-

वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक पुरस्कार शान्ति नारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।बाबाद्वारा स्थापित र सङ्घर्षमा कलम पोखराद्वारा सञ्चालित उक्त पुरस्कारको राशी नगद पाँच हजार पाँच सय ५५, ताम्रपत्र र दोसल्ला रहेको छ ।

संस्थाका अध्यक्ष कृष्ण सारथि, कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा कोषका संरक्षक असफल गौतम, छनौट समिति सदस्य सागर शाहसतिको मंगलबार बसेको प्रतिभा छनौट समितिको बैठकले उक्त पुरस्कारको पाँचौ संस्करणमा श्रेष्ठलाई प्रदान गर्ने निणर्य गरेको हो ।वि.सं. १९९६ भाद्र १७ का दिन शिवालय–६, कुश्मा, बजार, पर्वतमा बाबु रूपनारायण श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको कोखबाट जन्मेका श्रेष्ठ २०१२ सालदेखि साहित्य लेखनमा क्रियाशील छन् ।

उनका हालसम्म गुप्तेश्वर (खण्डकाव्य) २०२७, झङ्कार (गीत सङ्ग्रह) २०५६, स्पन्दन (गीत सङ्ग्रह) र विसङ्गति (मुक्तक सङ्ग्रह) २०५६, बैंसका सुसेलीहरू र बाडुल्की (गीत सङ्ग्रह) २०५७, अनुभूति (गजल सङ्ग्रह), स्मृतिका लहरहरू (शोककाव्य) २०६०, अवतरण (हाइकु सङ्ग्रह) २०६१, अनावरण (ताङ्का सङ्ग्रह), संस्मरण (नियात्रा) २०६२, अजम्बरी माया (गजल सङ्ग्रह) २०६३, अन्तध्र्वनि (चोका सङ्ग्रह) २०६४, खाटा बस्न नसकेका घाउहरू (मुक्तक सङ्ग्रह) २०६६, अपेक्षा (सेदोका सङ्ग्रह) २०६७, भावावेश (मुक्तक सङ्ग्रह) २०६८ लगायतका कृति प्रकाशित छन् । यस्तै उनको २०७२ सालमा नागरिक अभिनन्दनसहित शान्तिनारायण श्रेष्ठ ः स्रष्टा र सिर्जना विषयका ७४४ पृष्ठको वृहत् समीक्षा ग्रन्थसमेत प्रकाशन छन् ।

२०१८ सालमा आँकुरो नामक हस्तलिखित पत्रिकाको सम्पादन शुरु गरेका श्रेष्ठले पर्वत मासिक बुलेटिन, पर्वत माला षड्मासिक र सगुन साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादन–२०५४ देखि गर्दै आएका छन् । २०६५ सालमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफाको वृत्तचित्रसमेत निर्माण गरेका श्रेष्ठ गायक पनि हुन् । उनका लोकदोहोरी गीततर्फ आजै छ लगन, हिलेपानी गाउँ, शिरमा तिम्रो तीन एल्बम प्रकाशित छन् । यसरी साधनामा क्रियाशील स्रष्टा श्रेष्ठलाई राष्ट्रिय सरल कवि उपाधिसहित विभिन्न सम्मान प्रदान गरिएको छ । उनले जानपद सेवापदक २०२३, दोस्रो राष्ट्रिय दोहोरीगीत प्रतियोगिता २०४० स्वर्ण पदक, त्रिमुर्ति पुरस्कार, भानु पुरस्कारसहित चारदर्जन बढी सम्मान प्राप्त गरेका छन् । दुई दर्जन बढी सामाजिक संस्थामा आवद्ध श्रेष्ठका बारेमा त्रिभुवन विश्वविद्यालय स्नातकोत्तरका सातजना विद्यार्थीले शोधसमेत गरिसकेका छन् ।

कला, साहित्य र संगीत क्षेत्रमा क्रियाशील साधकलाई प्रदान गरिने उक्त पुरस्कारबाट यस अघि लमजुङका रुपिन्द्र प्रभावी कुट, गोर्खाका सरस्वती श्रेष्ठ सरु बाग्लुङका सुमन श्रापित र पोखराका धनबहादुर गायक सम्मानित भइसकेको छनौट समितिका पदेन सदस्य तथा सङ्घर्षमा कलमका अध्यक्ष कृष्ण सारथीले जानकारी दिए ।

साहित्यकार बाबाले स्थापना गरेको बाबा साहित्य साधक कोषमा हाल एक लाख रुपैयाँ रहेको छ । उक्त रकमको व्याजबाट वार्षिक रुपमा सङ्घर्षमा कलममार्फत एक स्रष्टा साधकलाई सम्मान गरिदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button