बाग्लुंगमा बाँझो जमिन हराभरा

बागलुङ, १९ मङ्सिर-

खेती गर्ने कोही नभएर बाँझो पल्टिएको आफन्तको बारीलाई एक किसानले हराहरा बनाएका छन् । मल्म–९ झिर्काका तिलबहादुर थापाको परिश्रमले बसाइँसराइका कारण रित्तिँदै गएको सोही वडाको खाली भन्ने गाउँमा केही आशा जगाएको छ । ससुरालीका सबै सदस्य विदेश गएपछि थापाले घर, गोठ, बारी, खर्क सम्हाल्दै आएको तीनवर्ष बितिसकेको छ । मानिस पनि नबस्ने, खेतीपाती पनि नहुने भएर निर्जन हुँदै गएको गाउँलाई थापाले प्राण भरेका छन् । खाली गाउँका एक दर्जनभन्दा बढी परिवार अहिले सुगम ठाउँमा सरेका छन् । एकाउन्न वर्षीय थापाले बाँझिएको जमिनलाई केरा, सुन्तला र तरकारी खेतीले हराभरा तुल्याएका छन् ।

साथमा उनको ३६ घारको व्यावसायिक मौरीपालन पनि छँदैछ । करिब ६ रोपनी क्षेत्रफलको जग्गामा थापाले विभिन्न प्रजातिका २५० बोट केरा लगाएका छन् । पछिल्लो अवधिमा मात्र थापाले केरा बेचेर रु एक लाख भन्दा बढी कमाइसकेका छन् । “ससुरालीका सबै जना बाहिर छन्, कोही बसाइँ सरे” थापाले भने – “घर–गोठ रेखदेख गर्न र खेती किसानीको लागि मलाई जिम्मा दिएका छन् ।” बाइस वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका थापाले पछिल्लो समय केराखेती पनि गरिरहेका छन् । झिर्कामा रहेको आफ्नै घरमा पनि थापाले १२ घारमा मौरी पाल्दै आएका छन् । थापा तालिम प्राप्त कालीगढ पनि हुन् । उनी आधुनिक मौरीघार पनि बेच्छन् । “बाइस वर्ष भयो मैले मौरीसँग खेल्न लागेको, अहिले नगदे खेतीतिर पनि हात हालेको छु” थापाले भने – “थप २५० बोट केरा लगाउने तयारीमा छु ।” मह, केरा घरबाटै बिक्री हुने गरेको र माग धान्नै धौधौ पर्ने गरेको थापाको अनुभव छ ।

थापाको बगैंँचामा धु्रसे, हजारे, मालुङ्गे, मुरे प्रजातिका केरा छन् । पछिल्लो तीन वर्षमा केरा र मौरीपालनमा रु पाँच लाख लगानी भएको थापा बताउँछन् । गतवर्ष मात्रै उनले एक लाख ५० बराबरको मह उत्पादन गरेर बेचेका थिए । प्रति किलो रु ६०० मा मह बिक्री हुने गरेको छ ।
बर्सेनि दुई याममा मह काड्ने गरेको र एउटा घारबाट १० किलोभन्दा बढी मह उत्पादन हुने गरेको थापाले बताए । थापाले आफ्नो घर झिर्कामा भने २२ वर्ष अघिदेखि नै मौरीपालन गदै आएका थिए । आफ्नै घरमा रहँदा मह र घार बेचेर रु २० लाख भन्दा बढी आम्दानी गरेको थापाको भनाइ छ । उनले आफूले बनाएको आधुनिक मौरी घार रु पाँच हजारमा बेच्ने गरेका छन् । रोजगारीको लागि सातवर्ष भारतमा बिताएका थापा त्यहाँबाट फर्केर मौरीपालनमा लागेका हुन् ।थापाका श्रीमती र दुई छोरा छन् । परिवारका सबै सदस्यले थापाको कृषि कर्ममा सघाउने गरेका छन् । थापाकै कमाइबाट परिवार धानिएको छ । मेहनती भएका कारण गाउँमा थापाको परिचय पनि बदलिएको छ । गाउँलेले उनको प्रशंसा गर्ने गरेका छन् । थापाले आफ्नै लगानीबाहेक कतैबाट पनि कुनै सहयोग वा अनुदान पाएका छैनन् । थापाको सफलता देखेर सोही ठाउँका अन्य किसानले पनि व्यावसायिक कृषि कर्म सुरु गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button