भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

पोखरा न्युज ।

पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ ।

कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल राजधानी बाहिर प्रत्यारोपण केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा रहनुभएको छ । पोख्रेलकै निर्देशनमा भरतपुर अस्पताल विकास समितिले प्रत्यारोपण केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको छ ।

राजधानीमा सरकारी तवरबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा प्रत्यारोपणको काम हुँदै आएको छ ।

निजी क्षेत्रमा ग्र्याण्डी अस्पतालले प्रत्यारोपण गर्दै आएको छ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु पाँच लाख ५० हजार अनुदान दिँदै आएको छ ।

स्थापना र पहिलो वर्षको खर्च सरकारी तबरबाट उपलब्ध गराएमा अस्पतालले प्रत्यारोपणको कामलाई निरन्तरता दिन सक्ने मरासिनीले बताउनुभयो ।
मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने शल्यक्रिया कक्ष अस्पतालमा भएको भन्दै उहाँले चिकित्सकको समूह र आवश्यक औजार जुटाएसँगै प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।

सामान्यरुपमा प्रत्यारोपण शुरु गर्न करिब रु चार करोड खर्च लाग्ने भए पनि उच्चस्तरको व्यवस्थापन गरी काम गर्न करिब रु १३ करोड खर्च हुने अनुमान गरिएको छ ।

भरतपुर अस्पतालले गत महिनाबाट मिर्गौलाको डायलासिस गर्दै आएको छ । डायलासिस गरेका बिरामीको अन्तिम उपचार मिर्गौला प्रत्यारोपण नै हो ।

हरेक वर्ष चितवन र छिमेकी जिल्लाबाट आउने झण्डै दुई लाख बिरामीलाई सेवा दिँदै आएको भरतपुर अस्पतालमा यसै वर्षबाट न्यूरो सर्जरी, कार्डियो थेरापी सर्जरी, सिटिस्क्यान, उच्चस्तरको बाल सघन उपचार कक्षसमेत सञ्चालनमा ल्याइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button