गुल्जार बन्दै भीमाद

केशवशरण लामिछाने-

अहिलेको जिल्ला सदरमुकाम दमौली पुरानो बजार होइन । २०२४ अघि जिल्ला सदरमुकाम बन्दीपुरमा थियो । बजार पनि त्यहीं थियो । अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति कमाएको पोखराका तुलनामा त्यसबेला बन्दीपुर बजार गुल्जार हुन्थ्यो । पोखराका वासिन्दा सामान किन्न बटौली पुग्थे । नुन जोहो गर्न भोट उक्लन्थे ।

किनमेलका लागि बटौली जाने बाटो मुख्य गौंडामध्येको एक तनहुँको भीमाद थियो । कास्कीका मात्रै होइन, तनहुँकै थुप्रै गाउँ, लमजुङ, पाल्पा र नवलपरासीका लागि पायकमा पथ्र्यो यो ठाउँ । त्यसैले जिल्ला सदरमुकाम नहुँदा नहुँदै पनि बन्दीपुरपछिको वैकल्पिक व्यापारिक केन्द्र ऊबेलै थियो भीमाद ।

‘यो ठाउँका लक्षमण साहु, सूर्य साहु भनेपछि नौडाँडापारिकाले पनि चिन्थे’, भीमादका पूर्वगाविस अध्यक्ष काजीमान श्रेष्ठ बाउबाजेले भनेका कुरा सम्झन्छन्, ‘सामान किन्न भरिया लिएर जाँदा बुटवल भैरहवामा यहाँका साहु भनेर हेर्नै आउँथे रे ।’ उनकै भनाइमा भननारायण श्रेष्ठ, लक्षमण श्रेष्ठ, कोमलभक्त पालिखे, सोमप्रसाद श्रेष्ठ र सूर्यकुमार श्रेष्ठले भीमादमा व्यापारको जग हालेका थिए ।

ऊ बेला ती पाँचजनाले धानेको भीमादको व्यापार व्यवसायका उत्तराधिकारी धेरै जन्मिएका छन् । अहिले यो ठाउँको व्यापार ज्यामितीय दरले बढिरहेको स्थानीय व्यवसायी बताउँछन् । २००७ सालको क्रान्तिपछिमात्रै सहरको स्वरुपमा जान थालेको पोखराबाट केवल ३५ किलोमिटर पूर्वदक्षिणको सहरले छिमेकमा अन्तर्राष्ट्रिय सहरको उदय हुँदा पनि आफ्नो अस्तित्वलाई गुमाएन बरु हुर्काइरहेको छ ।

झन् पछिल्ला वर्ष यो ठाउँले आफूलाई पोखरा आसपासको गन्तीको बजारमा उभ्याउन थालेको यहाँको गतिविधिले प्रष्ट्याउँछ । ‘अहिले पनि यो ठाउँ नवलपरासी, पाल्पा, स्याङ्जा र तनहुँको पश्चिमी भेगको बजार केन्द्र हो’, पूर्वगाविस अध्यक्ष काजीमान भन्छन्, ‘जनसंख्या पनि बढेको छ, व्यापार पनि बढेको छ ।’

-प्रदेश नं ४ बाट चीन पुग्ने उत्तरी सीमा कोरला र भारत पुग्ने दक्षिणी सीमा त्रिवेणी जोड्नेबाटो भीमाद हुँदै जान्छ । -५० वर्षअघिदेखि नै कास्की, तनहुँ, स्याङ्जा र पाल्पाका वासिन्दाले किनमेल गर्ने बजार भीमाद पछिल्लो समय गुल्जार हुँदैछ ।

सडकसँग भीमादको रोचक इतिहास छ । भीमादमा मोटर पुग्दा न पृथ्वीराजमार्गले पोखरा र काठमाडौं जोडेको थियो न पोखरालाई सिद्धार्थ राजमार्गले भारतीय सीमा सहर सुनौलीसँग जोडेको थियो । २०१९ सालमै भीमादमा मोटर पुगेको काजीमान सुनाउँछन् ।

उनका अनुसार तत्कालीन अञ्चलाधीश भूपदेव राईले तनहुँको रिसिङसम्म सडक खन्न लगाएर आफैं रसियन जीप चढेर भीमाद आएका थिए । ‘पोखराभित्रै मोटर कताकति चल्थे । पोखराबाटै उनी मोटरमा भीमाद आएका हुन्’, उनले सुनाए, ‘त्यसको तीन वर्षपछि मात्रै २२ सालमा सिद्धार्थ राजमार्ग बन्यो अनि ९ वर्षपछि २८ सालमा पृथ्वीराजमार्ग ।’ अञ्चलाधीशले कोदो बारीबारी जिप चलाएको बुढापाका सुनाउँछन् । त्यही डोबमा पछि श्रृंगमार्ग बनेको छ ।

भीमाद भौगोलिक हिसाबले केही जिल्लाको केन्द्र त हुँदै हो, त्यसमाथि प्रस्ताविक प्रदेश नं ४ का लागि महत्वपूर्ण ठाउँ हो । प्रदेश नं ४ बाट चीन पुग्ने उत्तरी सीमा कोरला र भारत पुग्ने दक्षिणी सीमा त्रिवेणी जोड्नेबाटो भीमाद हुँदै जान्छ । तसर्थ पनि यसको महत्व रहेको स्थानीय व्यवसायी बताउँछन् ।

भीमाद समथर भूभाग हो । वरिपरि डाँडाकाँडा छन् । उपत्यका जस्तै छ यो ठाउँ । तनहुँको पश्चिमीभेगको पानीढलो यतै ढल्केको छ । स्याङ्जा र पाल्पाको पूर्वीभेगलाई भीमाद पायक पर्छ भने नवलपरासीको उत्तरी बस्तीका बासिन्दालाई भीमाद आउन सजिलो छ । पाल्पाको सबैभन्दा फराकिलो र खेतीयोग्य भूमि रामपुरका बासिन्दालाई आफ्नै जिल्लाको सदरमुकाम तानसेन पुग्नभन्दा भीमाद आउन सजिलो छ । रामपुर र भीमादको दुरी ४१ किलोमिटरमात्रै हो ।

बाटोको बीचमा कालीगण्डकी नदी छ । पुल नहुँदा पनि वारिआएर रामपुरबासी भीमादकै बाटो काठमाडौं, पोखरा गर्थे । ‘तीन वर्षअघि पुल बनेपछि औधी सजिलो भएको छ’, भीमादका व्यवसायी दयानिधि पौडेल भन्छन् । पृथ्वीराजमार्गको दुलेगौडा र खैरेनीटारको बीच खण्डबाट सात किलोमिटर भित्र पसेपछि भीमाद पुगिन्छ । मुखैमा सेतीनदी तर्नुपर्छ ।

उनताका नै नेपाली सिल्पले फलामका साङ्लाको डोरीबाट यहाँ झोलुंगे पुल बनाइएको थियो । अचेल भने मोटरेवल पुल छ । सेतीनदीमा एउटा बाँध छ यहाँ । खासमा त्यो अन्नपूर्ण हिमशृंखलाको हिमताल फुटेर आएको बाढीका क्रममा बनेको भन्ने भूगर्भविदहरुको भनाइ छ । तर, स्थानीय जन श्रुतीअनुसार बाँध महाभारतकालीन भीमसेनले बाँधेका थिए । भीमले बाँध बाँधेको भनिएकैले ठाउँको नाम भीमाद भएको छ ।

काजीमानका अनुसार सेतीनदीको किनारमा थियो पुरानो बजार । अहिले त्यसभन्दा माथि लमतन्न फैलिएको छ बजार । सेतीनदीको किनारमा हुँदा पनि यो ठाउँले व्यापारिक केन्द्र बन्ने अवसर पायो । ‘ठूला एकादशीमा सेती किनारमा तीन दिनसम्म मेला लाग्थ्यो’, उनी भन्छन्, ‘सबै व्यापार त्यो मेलामा हुन्थ्यो ।’ तर माओवादी सशस्त्र विद्रोह चरमोत्कर्षपछि मेला लाग्ने दिन घटेको उनी सुनाउँछन् । ऊ बेला भीमाद कपडा बेच्थ्यो, खाद्यान्न सामग्री बेच्थ्यो । अचेल भने दाल, बोडी, सिमी अदुवा आफ्नै ठाउँमा उब्जाएर बेच्छ । रड सिमेन्ट, छड, कपडा, नुनदेखि सुन भने बाहिरबाट ल्याएर बेच्छ ।

बैंकि छाडेर केही समययता इन्टरनेट व्यवसाय सम्हालेका सुदीपबन्धु भण्डारीका अनुसार भीमादमा अझै पनि यस्ता पसल छन्, जहाँ ग्राहकले सोधेको जवाफ सजिलै मुस्किलले पाउँछन् । ‘खाने फुर्सद त हुन्न, अनि किन बोल्थे’, उनी कारण खुलाउँछन् ।

तनहँ उद्योग वाणिज्य संघ भीमाद बजार इकाइका कोषाध्यक्ष चतुर्भुज सुवेदीका अनुसार अबको १० वर्षमा भीमाद बजारको जनसंख्या ५० हजार पुग्न सक्ने गरी बढिरहेको छ । निर्माण सामग्री व्यवसायीसमेत रहेका उनका अनुसार घर बनाउनेको संख्या अत्यधिक छ । उनी कारण भन्छन्, ‘घरको एकजना अरब जान्छ, ऊ उडेको भोलिपल्टैबाट स्वास्नी छोराछोरी बजार झर्छन्, अर्काे वर्ष जग्गा किन्छन्, फेरि अर्काे वर्ष घर बनाउँछन् ।’

चतुर्भुजकै अनुसार भीमादमा पाँचवटा विकास बैंकका शाखा छन् । सहकारी ११ वटा छन् । ‘बैंकको एउटा शाखाले मात्रै दिनमा ७० लाख रुपैयाँ जति रेमिटेन्स भुक्तानी गर्छ’, उनी भन्छन्, ‘एउटै सहकारीले ५०÷५५ लाख बुझाउँछ ।’ पहिला एक रुपैयाँको मुख नदेख्नेका घरमा नगदै लाख डेढ लाख रुपैयाँ हुने उनी सुनाउँछन् । यो उनकै भनाइमा रेमिटेन्सको कमाल हो ।

-रेमिटेन्सकै कारण यहाँको व्यापार व्यवसाय चम्कँदै गए पनि भीमाद र वरपरले परम्परा छोडेको छैन । भीमाद र आसपासमा उत्पादित कृषि उपज भारत र पाकिस्तानसम्म निर्यात हुन्छ ।

भारतीय लाहुरेलाई पनि उछिनेर अरब र मलेसिया जानेले भीमादमा धेरै संख्यामा घर निर्माण गरिरहेको उनले बताए । ‘अहिलेकै अनुपातमा घर बन्ने हो भने केही वर्षमै भरिन्छ भीमाद ।’ उनकै भनाइमा यहाँ सुन पसलको संख्या मात्रै ३५ छ । तीन जना डक्टर भएको एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेको यो ठाउँमा एउटा क्याम्पस छ ।

तीनवटा उच्चमावि छन् । निजी स्कुल तीनवटा छन् । एउटा स्कुलमा तीन सानाठूलो गरी ३५ होटेल÷रेस्टुरेन्ट छन् । ‘दैनिक १२ चक्के पाँचवटा गाडीले यहाँ खाद्यान्न ल्याउँछन्’, व्यवसायी दयानिधि पौडेल सुनाउँछन्, ‘५÷६ गाडी रड सिमेन्ट भित्रन्छ ।’ उनका अनुसार भीमादमा दैनिक मासुमात्रै सात क्विन्टल खपत हुन्छ । पछिल्लो समय व्यापार व्यवसायबाट करोडपति बन्नेको संख्या औंलामा गन्न नभ्याइने अवस्थामा पुगेको छ । राम्राराम्रा निजी कार हुने परिवारको संख्या ८० पुगेको केबुल व्यवसायी राजु खनाल बताउँछन् । भन्छन्, ‘केहीसँग प्राडो र पजेरो पनि छ । हाइलक्स चढ्ने पनि छन् । मोटरसाइकल त घरैपिच्छे ।’

उद्योग वाणिज्य संघको इकाइमा आवद्ध व्यवसायी तीन सय छन् । रेमिटेन्सकै कारण यहाँको व्यापार व्यवसाय चम्कँदै गए पनि भीमाद र वरपरले उत्पादनको परम्परागत छोडेको छैन । भीमाद र आसपासबाट कृषि उपज भारत र पाकिस्तानसम्म निर्यात हुन्छ । भीमादको मास भनेपछि गण्डक क्षेत्रमा औधी रुचाइन्छ । यो यहाँको त्यस्तो उत्पादन हो जुन देशका प्रमुख सहरमा जान्छ । अदुवा, बोडी पनि भीमाद अन्त पठाउँछ । स्थानीय हस्त खड्काका अनुसार बर्सेनि पाँच करोड रुपैयाँ अदुवा भीमादबाट विदेशिन्छ ।

पोखरा र भीमादको भौगोलिक दुरी ३०-३५ किलोमिटर हुनुमात्रै नजिकको साइनो होइन । यी बजारबीच जन्मँदाको साइनोसमेत जोडिएको छ । यी दुवै ठाउँको जन्मको कारण एउटै हो भन्छन्, विज्ञ डा.कृष्ण केसी । ‘भीमादभन्दा सात किलोमिटर दक्षिणसम्मको बनोटको स्रोत र पोखराको स्रोत एउटै हो’, उनी भन्छन्, १२-१५ हजार वर्षअघिको बनोट हो यो ।’ अन्नपूर्ण हिमशृंखलाको हिमताल फुटेर आएको बाढीले पोखराको उपल्लो क्षेत्र लाहाचोक, घाचोकदेखि भीमादसम्मको ठाउँ बनेको उनी बताउँछन् । गाविस सचिव दधिराज पौडेलका अनुसार भीमादको जनसंख्या १० हजारभन्दा बढी छ । वरपरका गाविससमेत मिसाएर यो ठाउँलाई नगरपालिका बनाउन प्रस्ताव गरिएको उनी बताउँछन् । अहिले यहाँ योजनाबद्ध वस्ती विकास भएको छैन । नगरपालिका बनाएर विकासलाई योजनाबद्ध बनाउनुपर्ने खाँचो उनी देख्छन् ।

साभार – अन्नपूर्णपोष्ट

फोटो – भिमाद बजार 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button