फोर जी सेवालाई देशभर बिस्तार गर्न तथा ग्राहकका समस्यालाइ १ महिनाभित्र समाधान गर्न टेलिकमलाई निर्देशन

पोखरान्युज डटकम,  पोखरा –

व्यवस्थापिका–संसद अन्तर्गतको विकास समितिले नेपाल टेलिकमलाई फोर जी सेवा देशभर विस्तार गर्न निर्देशन दिएको छ । समितिका सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा बुधबार बसेको बैठकले असोज मसान्तभित्रमा फोर जी सेवालाई देशभर पुर्याउन तथा ग्राहकले भोगेका अन्य समस्या लाइ १ महिना भित्र समाधान गर्न निर्देशन दिएको हो । टेलिकमले हालसालै मात्र पोखरा र काठमाण्डौमा एकसाथ फोर जी सेवा सुरु गरेको छ ।

फोर जी सेवा सीमित क्षेत्रमा मात्र उपलब्ध भएको भन्दै समितिले उपभोक्ताको ठूलो हिस्सा यस सेवाको उपभोगबाट बञ्चित हुनुपरेको उल्लेख गरेको छ । बैठकले सेवा उपभोग गर्ने अधिकाशं सेवाग्राहीहरुको चासो सम्वोधन गर्न फोर जी सेवा लाई ९०० वा १८०० को वाण्डविथ फ्रिक्यायन्सीमा भए पनि असोज मसान्त सम्ममा देश भरिनै विस्तार गरिसक्न निर्देशन दिएको छ । बैठकको निर्णयले भनेको छ, ‘संभव भएसम्म न्यूनतम शुल्कमा भ्वाइस कल र इन्टरनेट सेवा उपलव्ध गराउन, सेवा र प्रविधिको स्तरोन्नती गर्दा आफ्ना अधिकाशं उपभोक्ताहरु लाभान्वित हुने गरि÷दायरामा आउने गरि, पूर्ण गृहकार्य गरेर मात्र कार्यान्वयन गर्न गराउन नेपाल टेलिकमलाई, सो सम्वन्धमा आवश्यक सहजीकरण गर्न नेपाल दुरसञ्चार प्राधिकरण र सूचना तथा सञ्चार मन्त्रालयलाई समिति निर्देश गर्दछ ।

यसअघि तोकिएका काममा दिएका निर्देशनहरुको अनुभव हुन सक्ने गरी प्रतिफलमूलकरुपमा कार्य सम्पादन हुन नसकेको जनाउदै समितिले गम्भीरताका साथ कार्यसम्पादन गर्न गराउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

हाल उपलव्ध दूरसञ्चार सेवाको गुणस्तरीयतामा केहि सुधार भएपनि संतोष नै व्यक्त गर्नु पर्ने अवस्था नरहेको भन्दै समितिले टेलिकमले गुणात्मक वृद्धि भन्दा सख्यात्मक वृद्धिलाई बढी ध्यान दिएको निष्कर्ष निकालेको छ । बीटीएस टावरमा नियमित विद्यूत आपुर्ति भएको अवस्थामा समेत समयमा नै फोन नलाग्ने, आावाजमा अस्पष्टता, भनिए जस्तो इन्टरनेटको गति नहुनु, रिचार्ज नहुने जस्ता समस्याहरु अझै पूर्णरुपमा समाधान हुन नसकेकोले उल्लेखित समस्याहरु १ महिना भित्र समाधान गर्न समितिले निर्देश गरेको छ ।

गुनासो सुन्ने व्यवस्थालाई प्रभावकारी बनाउन, समयमा नै उपभोक्ताको गुनासो संवोधन गर्न नसके क्षतिपूर्ति दिने व्यवस्था गर्न समेत समितिले नेपाल दुर सञ्चार कम्पनी लिमिटेड तथा नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button