पोखरामा हुने आठौँ क्यान इन्फोटेकको तयारी तिव्र – मोवाईल खरिदमा ५ देखि ५० प्रतिशत छुट

पोखरा –
पर्यटकीय नगरी पोखरामा यही फागुन ५ गते देखि संचालन हुने ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ मा एक सय २५ वटा स्टलहरु रहने भएका छन ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा यही फाल्गुन ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने उक्त क्यान इन्फोटेकमा सूचना प्रविधि तथा सञ्चार सम्बन्धी विभिन्न कम्पनीका एक सय २५ वटा स्टलहरु रहने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । उक्त मेलाको अन्तिम तयारी समेत तिव्र पारिएको क्यान कास्कीका सचिव एवं मेलाका सूचना प्रवक्ता रुकमांगत भण्डारी विश्वासले बताए ।
ग्रामिण क्षेत्रसम्म सूचना र प्रविधिको पहुँच पुर्याउनका लागि मेला निकै उपयोगि हुने क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाले बताए । मेलामा पुग्ने ग्राहकहरुले लागि मोवाईल खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट पाउने पोखरा ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण सुवेदीले बताए । मोफसलमा निरन्तर ८ वर्षदेखि क्यान कास्कीले इन्फोटेक मेला गर्दै आएको छ । यस पटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघसँग सहकार्य गरी मोबाइल एक्स्पो पनि हुने भएकाले ८ औं संस्करणको मेला हुन लागेको हो ।

जेरक्स कम्पनीको मुख्य प्रायोजन रहेको मेलामा डायमन्ड स्पोन्सरका रुपमा रिको, गोल्ड स्पोन्सरको रुपमा पोखरा इन्टरनेट, सिल्भर स्पोन्सरको रुपमा नेटिस र हिटाची, टिकेट स्पोन्सरमा एक्सेस वल्र्ड, बैंकिङ पार्टनरमा नेपाल बैंक रहेका छन् ।

त्यसैगरी इन्सुरेन्स पार्टनरमा युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनरमा चिठ्ठा डटकम, आइटी पार्टनरमा आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल, प्रिन्टिङ स्पोन्सरमा क्यानोन रहेका छन् । यसैबीच मोबाइल एक्स्पोमा नेपालमा विस्तार भएका चर्चित ब्राण्डहरूको उपस्थिति हुने आयोजकले जनाएको छ । सूचना प्रविधिको विकास एवं प्रवद्र्घनको लागि स्थापनाकालदेखि निरन्तर रुपमा काम गर्दै आएको क्यान महासंघले आफ्ना गतिविधलाई जिल्ला व्यापी बनाउदै आएको छ । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सफल पार्न क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाको संयोजकत्वमा २९ वटा उपसमिति गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button