अन्तरजातीय प्रेम गरेको भन्दै युवतीलाई कुटपिट गर्ने बिरुद्ध मुद्दा दायर

पोखरा न्युज –

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ ।

तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै रु एक लाख जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

युवतीका बाबु इन्नर यादवसहित पाँच जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिनुभयो ।

सम्मरीमाई गाउँपालिका–६ का ४६ वर्षीय युवतीका बाबु इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

प्रमुख धानुकाका अनुसार युवतीका बाबु यादवलाई प्रहरीले पक्राउ गरिसकेको र कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । उहाँले घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारबाही हुने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button