कास्कीको सुन्तलामा सिक्टस ग्रिनिङ रोगको प्रकोप बढ्दो

पोखरा-

पछिल्ला समयमा कास्कीमा सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत अजय अधिकारीका अनुसार सिक्टस ग्रिनिङ रोगको कारण जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । अघिल्लो वर्ष एक हजार ४०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने ८०३ हेक्टर मात्र उत्पादनशील क्षेत्र रहेको थियो । यस वर्ष उक्त क्षेत्रफल घटेर एक हजार ३५० हेक्टर पुगेको छ । करिब ७५० हेक्टर मात्र उत्पादनशील क्षेत्र रहेको छ ।

अघिल्लो वर्ष जिल्लामा छ हजार ७०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर छ हजार २०० मेट्रिक टन पुग्ने अनुमान कार्यालयको छ । सुन्तलाका पकेट क्षेत्र निर्मलपोखरी, भरतपोखरी, कृष्ति, थुम्कीलगायतका स्थान हुन् । तर निर्मलपोखरी र भरतपोखरीमा सिक्टस ग्रिनिङलगायत रोगका कारण सुन्तलाखेतीमा ह्रास आएको छ । सुन्तलाखेतीको विकास र विस्तारका लागि कृषि कार्यालयले बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ । अधिकांश स्थानमा रोगको प्रकोपका कारण सुन्तलाका बोट धमाधम मर्न थालेका छन् । जिल्ला सुन्तला उत्पादक सङ्घका सचिव शिवराज भण्डारी रोगका कारण सुन्तला उत्पादन घट्दा कृषक मारमा परेको बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालय कास्कीको सहयोगमा केन्द्रीय बागवानीले स्क्रिन हाउसमा तयार गरेका ५०० बिरुवा भरतपोखरीमा परीक्षण गरिएको उहाँले बताउनुभयो । “रोगको पहिचान र त्यसको समयमा नै उपचार नहुँदा उत्पादन घटेको हो,” उहाँले भन्नुभयो । यस वर्ष थुम्कीमा मात्र पतेरो रोगका कारण रु ५० लाख बराबरको सुन्तला उत्पादनमा क्षति पुगेको छ । सुन्तलाखेतीको उत्पादन बढाउनका लागि कृषक आफैँ जागरुक बन्नुपर्ने बताउँदै भण्डारीले बढ्दो रोगका कारण मर्कामा परेका किसानलाई सरकारले राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।  सिक्टस ग्रिनिङको पहिचान भएका बोट उक्काउने तथा बगैँचा सरसफाइ गर्नका लागि कृषि कार्यालयबाट सहयोग गर्ने सम्बन्धमा छलफल भइरहेको उहाँको भनाइ छ ।

अनुकूल मौसम, सुन्तलाखेती विस्तार तथा सुन्तलाको पुरानो बगैँचा सुधार गरे कास्कीमआ सुन्तला उत्पादन बढ्ने देखिन्छ । रोगका कारण भरतपोखरीको चिर्गादी, आँपस्वाहाँरा, वरमाझथर, धारापानीलगायतका स्थानमा बर्सेनि सुन्तलाका बोट मर्ने क्रम जारी छ । पहिलोपटक २०२५ सालमा जिल्लाको मालेपाटनमा सिक्टस ग्रिनिङ रोग देखापरेको थियो । जिल्लामा करिब ५० जना व्यावसायिक कृषकले सुन्तला व्यापारबाट वार्षिक रु २० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको तथ्याङ्क छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button