पोखरामा सिटी रेबान फुड फेस्टिबल जारी, मंगलबार ५ लाख बराबरको कारोबार

पोखरा न्युज ।

सोमबारदेखि नयाँबजारको प्रदर्शनी केन्द्रमा जारी छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलमा मंगलबार ५लाख बराबरको कारोवार भएको छ । करिब ५हजार दर्शकले मेलाको अवलोकन गरेको कार्यवाहक अध्यक्ष दीपक तीमिल्सेनाले जानकारी दिए ।

‘दोस्रो दिन दर्शकहरुको राम्रो उपस्थिती रह्यो । अपेक्षा गरिएअनुसार नभएपनि अवलोकनकर्ताहरुको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ ’ उनले भने । बुधबारदेखि यो संख्या अझै बढ्ने विश्वास उनले ब्यक्त गरे ।

१ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहेका छन् ।

महोत्सवमा मंगलबार लोकदोहोरी तर्फ बद्री पंगेनी र सुगम संगित तर्फ कमल खत्रीले दर्शकलाई नचाए । बुधबार चर्चित लोकगायिका देबीघर्ती मगर लगायत अन्य कलाकारको प्रस्तुती रहेको सचिव जीवन दाहालले जनाए ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिकरुपमा प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहेको छ। पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश गरिएको छ ।

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने जानकारी दिइएको छ ।

महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button