स्याङ्जाको खिलुङ कालिका एग्रोफार्ममा दैनिक एक लाख अन्डा उत्पादन

वालिङ, १२ कात्तिक –

स्याङ्जाको भिरकोट नगरपालिका–६ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफार्मले दैनिक एक लाख अन्डा उत्पादन गर्दै आएको छ । करिब एक वर्षअघि यहाँका सात युवकले करिब ५० करोड रुपैयाँको लागतमा फार्म सञ्चालनमा ल्याएका हुन् ।

फार्ममा हाल कमर्सियल लेयर्स जातका एक लाख ५० हजार कुखुरा रहेका छन् । यहाँबाट दैनिक करिब एक लाख अन्डा उत्पादन हुँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले बताउनुभयो । “आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो र ४० रोपनी जग्गामा जर्मनीमा निर्मित अत्याधुनिक ब्याट्री केज प्रविधिको प्रयोग गरी फार्म सञ्चालन गरिआएका छौँ,” प्रमुख कार्यकारी अधिकृत ढकालले भन्नुभयो – “यहाँ उत्पादन भएका अन्डाहरु पश्चिमाञ्चल विकास क्षेत्रका मुख्य मुख्य बजारमा खपत हुने गरेका छन् ।”

प्रत्यक्ष एक सय बढी स्थानीयवासीले रोजगारी पाएका कम्पनीले जनाएको छ । फार्मले वार्षिक चार करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने अधिकृत ढकालले बताउनुभयो । कुखुरापालनसँगै फार्मले जैविक मल उत्पादन तथा प्रशोधन केन्द्रको निर्माण कार्य थालेको छ । यही फार्मलाई लक्ष्य गरी अर्को कम्पनीले दैनिक १० हजार वटा क्रेटको उत्पादन गर्दै आएको छ । यहाँका युवाले सञ्चालन गरिरहेको यो फार्म अवलोकन गर्न दैनिक थुप्रै व्यक्ति आउने गरेको फार्मले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button