नेपालको चालीसौँ प्रधानमन्त्रीमा देउवाको एकल उम्मेदवारी

पोखरा न्युज –

मुलुकको ४० औँ प्रधानमन्त्रीका रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

संसद् सचिवालयले आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने समय तोकेको थियो । सो अवधिमा सभापति देउवाको एकल उम्मेदवारी परेपनि मतदान प्रक्रिया भने अगाडि बढाउनुपर्ने संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबारका लागि प्रधानमन्त्री पदको उम्मेदवारको समर्थक र प्रस्तावकले आफ्नो धारणा राख्ने र मतदान गर्ने गरी कार्यसूची तय गरिएको छ ।

व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीअनुसार एकजनाको मात्रै उम्मेदवारी परेपनि निर्वाचन प्रक्रिया पूरा गर्नु पर्नेछ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद्ले तोकेको समयमा उम्मेदवारी दर्ता गराएन ।

प्रधानमन्त्रीमा देउवा निर्वाचित हुन संसद्मा हाल कायम ५९३ सदस्य सङ्ख्याको बहुमत अर्थात् २९७ मत आवश्यक पर्छ ।

देउवाको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्तावक तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेकपा (संयुक्त) का जयदेव जोशी, अखण्ड पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक हुनुहुन्छ ।

प्रचण्डले गत जेठ १० गते राजीनामा दिएपछि मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो ।

सहमतीय सरकार गठन गर्न असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न संसद्लाई पत्राचार गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button