देउवाको पक्षमा समर्थन जुट्दै, राजपाको पनि समर्थन

पोखरा न्युज –

व्यवस्थापिका संसदमा आज हुने निर्वाचन संगै  मुलुकले ४० औँ प्रधानमन्त्री पाउँदैछ  ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले व्यवस्थापिका मंगलबार देखि संसद् सुचारु गर्न  सहमत भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको नयाँ प्रधानमन्त्री चयन हुने बाटो खुलेको हो ।  सभामुख ओनसरी घर्ती मगरको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका हुन् । बैठकमा सदन खुलेसँगै पहिलोचरणमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सदनलाई सम्बोधन गर्ने र लगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने  सहमति भएको थियो ।  त्यसपछि बस्ने  दोस्रो बैठकले  प्रधानमन्त्रीको निर्वाचन गराउने सहमति तिन दलका बिचमा भएको हो । संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

प्रधानमन्त्रीमा  देउवाको एकल उम्मेदवारी परेकाले उनी बिना प्रतिस्पर्धा प्रधानमन्त्री बन्ने भएका छन् । देउवाको एकल उम्मेदवारी परेतापनि संसद नियमावली अनुसार देउवालाई निर्विरोध घोषणा गर्न भने मिल्दैन । संसदमा  देउवाका प्रस्तावक, समर्थकले बोलेपछि  देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउको पक्षमा उम्मेदवारी दर्ताकै बखत प्रस्ट बहुमत देखिएको थियो । चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका सभापति देउवाको पक्षमा हालसम्म झण्डै दुई तिहाई मत देखिएको छ ।

प्रधानमन्त्रीका उम्मेदवार सभापति देउवालाइ प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताब गरेका हुन् । त्यसैगरि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशीले उनलाई समर्थन गरेका छन् । यिनै प्रस्ताबक र समर्थक दलहरुसंग संसदमा रहेका सांसदको संख्यालाई जोडेर हेर्दा मात्र पनि उनको पक्षमा स्पस्ट बहुमत देखिएको छ

प्रधानमन्त्रीको उम्मेदवार देउवाको आफ्नै पार्टी कांग्रेससँग रहेको २०६ सांसदमा प्रस्ताबक पार्टी माओवादी केन्द्रसँग रहेका ८१ सांसद र समर्थक मध्येको एक फोरम लोकतान्त्रिकसँग रहेको १६ सांसद जोड्दा हाल संसदमा कायम रहेको सदस्य संख्या ५९३ को बहुमत ३०३ पुग्छ । सामान्य बहुमतका आधारमा देउवा प्रधानमन्त्री बन्न देउवा २९७ सांसदको समर्थन चाहिन्छ । देउबालाई समर्थन गरेको नेकपा संयुक्त संग भएका ३ र अन्य दुई समर्थक अखण्ड नेपाल पार्टी र समाजवादी जनता दल संग रहेका १ -१ सांसद जोड्दा देउवाको पक्षमा ३०८ मत पुग्छ । यी बाहेक  २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि ३ बुदे सहमति सहित  देउवालाई समर्थन गर्ने भएको छ । ३७ सांसद भएको राप्रपा तथा १५ सांसद भएको फोरम नेपालले पनि देउवालाई समर्थन गर्ने सम्भावना  छ । यसरी हेदा  देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button