धौलागिरि आधार शिविरमा फोहर थुप्रियो

पोखरा न्युज –

धौलागिरि गाउँपालिका–४ मुदीस्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउन सरोकारवाला निकाय उदासीन बनेका छन् ।

चक्रिय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी रुपमा फोहर फ्याँक्दै आएका छन् । अहिलेसम्म सो फोहर हटाउन जिल्लास्थित कुनै पनि सरोकारवाला निकायले चासो दिएका छैनन् ।

फोहर व्यवस्थापन हुन नसक्दा आधार शिविर क्षेत्र प्रदूषणको चपेटामा परेको छ । मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबले फोहर हटाउनको लागि सरोकारवालाको ध्यानाकर्षण गराएको छ । फोहर हटाउन र व्यवस्थापन गर्न धौलागिरि गाउँपालिका र बेनीस्थित जिल्ला समन्वय समितिमा लिखित तथा मौखिक आग्रह गरे पनि सुनुवाइ नभएको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो ।

क्लबले ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाईडले आधार शिविर क्षेत्रमा फोहर व्यवस्थापन गर्न आनाकानी गर्दै आएका छन् । आधार शिविरमा फोहर नफाल्न र अव्यवस्थित रुपमा नष्ट नगर्न क्लबले आग्रह गर्दै आएको छ ।

“पदप्रदर्शकले अटेर गरी आधार शिविर क्षेत्रलाई प्रदूषित बनाइरहेका छन्,” अध्यक्ष पुनले भन्नुभयो । यस वर्ष क्लबले तीन पटक आधार शिविर क्षेत्रमा पुगेर ट्रेकिङ र आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको छ । आधार शिविरमा वर्षौंदेखि पर्यटकले जथाभावी फोहर फाल्ने गरेका छन् । पर्यटकले प्रदूषण बढेको गुनासो गर्न थालेका छन् ।

“आधार शिविरमा पुगेका पर्यटक फोहर होइन, हिमाल हेर्न आएका हौँ भन्छन्, उनीहरुलाई लिएर जाने पथप्रदर्शकका कारण वर्षेनी आधार शिविरमा फोहर बढिरहेको छ,” क्लबका कोषाध्यक्ष पूर्णबहादुर पुर्जाले भन्नुभयो । पथप्रदर्शकले जल्ने र नजल्ने फोहर आगो लगाएर यत्रतत्र बनाएर फर्कने गरेका छन् । सरकारी तवरबाट निगरानी नहुँदा आधार शिविरमा फोहर थुप्रने क्रम बढेको हो ।

आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् । धौलागिरि हिमालको आधार शिविर पदयात्राको अन्तिम मानव बस्तीको रुपमा रहेको बगराको सो क्लबले यस वर्ष धौलागिरिको आधार शिविरसम्म पुगेर फोहरको अवस्थाबारे अध्ययन गरेको थियो । आधार शिविरमा पुग्ने पर्यटक र तिनका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खाजा प्याक गरिएका प्याकेट र प्लास्टिकलगायतको फोहर थुप्रिएको छ । यस क्षेत्रमा हेलिकोप्टरमार्फत पुरयाइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै फालिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button