आठ वर्षीया बालिकाले गरिन कास्कीमा विद्यालय निर्माण

पोखरा न्युज –

आठ वर्षीया बालिकाले आफ्नो जन्मदिनको उपहार, दसैंमा पाएको दक्षिणा, खुत्रुकेमा जम्मा गरेको पैसाले के गर्लिन् ? चकलेट खान रहर गर्लिन्, सपिङ्गमा जालिन् वा भविष्यमा चाहिने भन्दै अभिभावकले बैंकमा राखिदेलान् । तर, अस्ट्रेलियाकी यी नेपाली बालिकाले भने नेपालको दुर्गम भेगमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सहयोग मात्र गरिरहेकी छैनन् कि कास्कीको कस्यारीमा विद्यालय निर्माण गरिदिएकी छिन् ।

अस्ट्रेलियाको सिड्नीमा जन्मिएकी रिया घिमिरेले उपहार, खुत्रुके लगायतको खर्चबाट बचाएर कास्की र अर्घाखाँचीको दुर्गम दुई विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थीहरुलाई वार्षिक रुपले स्टेसनरी वितरण मात्र गरिरहेकी छैनन् कि कास्कीको विद्यालयमा अध्ययनरत १० जना गरिब विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढाइरहेकी छिन् । उनी अहिले जम्मा ८ वर्षकी भइन् । ६ वर्षको हुँदै आफूले जम्मा गरेको खुत्रुके, ठूलाबडाबाट पाएको दक्षिणा र उपहारहरु जम्मा गरेर पोखराबाट ८ घण्टाको दूरीमा पर्ने दुर्गम गाविस भच्चोकको कस्यारीमा रहेको जनमन्दिर निमाविमा पाँच कोठाको विद्यालय निर्माणमा सहयोग गरिन् । २ लाख ५० हजार बढी जम्मा गरेर विद्यालय निर्माणमा सहयोग गरेकी उनले सोही विद्यालयका १० जना बालकालिकाहरुलाई पूर्ण छात्रवृत्तिसहित वार्षिक एक हजार रुपैयाँ दिएर अध्ययनमा हौसला समेत दिइरहेकी छिन् । उक्त निमाविमा अध्ययनरत १ सय ३४ विद्यार्थीहरुलाई वार्षिक रुपले स्टेसनरी वितरण समेत गर्ने गरेकी छिन् ।

विद्यार्थी भिसामा एक दशकअघि आएका बाआमाबाट सिड्नीमा जन्मिएकी रिया अहिले दक्षिण अस्ट्रेलियाको पेबार क्रिस्चियन कलेजमा कक्षा ४ मा अध्ययन गर्छिन् । उनको यो अभियानलाई उनका अभिभावकले समेत राम्रै सहयोग पुर्‍याइरहेका छन् । ‘रिया अहिले पनि आफ्नो जन्मदिनमा वा अन्य कुनै अवसरमा उपहारहरु पायो भने खर्च नगरी जम्मा गरिहाल्छिन्- उनका बुबा गोकुल घिमिरेले कान्तिपुरसँग भने- ‘त्यसैले नपुग भएको अवस्थामा हामी आर्थिक सहयोग गरिदिन्छौं ।’ उनले अर्घाखाँचीको दुर्गम ढिकुरा गाविसमा रहेको जयन्ती प्राथमिक विद्यालयमा पनि अध्ययनरत सबै १ सय ४६ विद्यार्थीहरुलाई वार्षिक स्टेसनरी वितरण गरिरहेकी छिन् । उक्त विद्यालयलाई डिजिटल प्रविधिबाट प्रोजेक्टरमा पढाउन मिल्ने योजनाका साथ शिक्षकहरुलाई तालिम र आवश्यक उपकरणको जोहोमा लागिपरेकी छिन् अहिले । जसलाई उनका अभिभावकहरुले साथ दिइरहेका छन् ।

छोरीले नेपालको शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउन जिद्दी गरेपछि उनका अभिभावकहरुले उनकै नाममा सामाजिक संस्था नै स्थापना गरिदिएका छन् । गोसिका फाउन्डेशन । उक्त फाउन्डेशनलाई उनकी हजुरआमा र अभिभावकहरुले रेखदेख गरिदिए पनि कसरी खर्च गर्ने भने रियाले नै निर्णय गर्ने गरेकी छिन् । रियाका अरुलाई अध्ययनका लागि सहयोग गर्न पाएकोमा आफूलाई खुसी लाग्ने बताउँछिन् ।

‘हाम्रो पैसा नेपालको भन्दा एकदम धेरै हुने भएकाले मेरो सानो बचतले पनि नेपालमा धेरैलाई सहयोग गर्न सकिँदोरहेछ’ उनी भन्छिन् । भविष्यमा डाक्टर बनेर ३ महिना नेपालको दुर्गम भेगमा नि:शुल्क सेवा गर्ने र ९ महिना अस्ट्रेलिया बसेर कमाई गर्ने योजना उनले बनाएकी छिन् ।

स्रोत – कान्तिपुर –   https://kantipur.ekantipur.com/news/2017-04-30/20170430111129.html

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button