चुनावमा फेसबुक प्रतिबन्धित, भोज खुवाउनेलाई जेल, गाली गर्नेलाई ५० हजार जरिवाना

१३ माघ-

आगामी चुनावमा मतदातालाई प्रभावित पार्न कसैले भोजभतेर खुवाउने वा उपहार बाँड्ने विचार गरेको छ भने उसको जेलमा बास हुने भएको छ । त्यसरी चुनावमा भतेर खुवाउनेलाई एक वर्षसम्म कैद सजायँ हुने छ ।
साथै एक उम्मेदवारले अर्काको चरित्रमाथि हनन गरेमा वा अर्को उम्मेद्वारको परिवारको निन्दा गरेमा त्यस्तो व्यीक्तलाई ५० हजार रुपौयाँसम्म जरिवाना वा कैद सजायँसमेत हुनेछ ।

संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले बिहीबार निर्वाचन कसूर तथा सजायँसम्वन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पास गरेको छ । र, शुक्रबार यसबारे छलफल गर्न समितिको पूर्ण बैठक बोलाइएको छ । समितिले पास गरेपछि यो विधेयक शुक्रबार नै संसदमा पेश हुनेछ ।

‘निर्वाचन कसुर तथा सजायँ सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७३’ नाम दिएको यो विधेयकको मस्यौदा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले तयार पारेका हुन् । प्रस्तावित विधेयकमा चुनावका क्रममा गर्न नहुने कार्यहरु तोकिएको छ र, गरे हुने सजायँहरु उल्लेख छन् । विधेयकमा तोकिएका विभिन्न सजायँहरु यस्ता छन्-

नगदसँग मतपत्र साटे जेलको बास

विधेयकका अनुसार निर्वाचन सामाग्री तथा मतदाता परिचयपत्र कसैैले कब्जा गरेमा दण्डनीय हुनेछ । निर्वाचन सामाग्री लुट्ने, चोर्ने वा कब्जा गरेमा एक लाख रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजायँ हुनेछ ।

त्यस्तै मतदाता परिचयपत्र कब्जा गरेमा २५ हजारसम्म जरिवाना वा ६ महिना कैद वा दुबै सजायँ हुनेछ ।

नक्कली मतपत्र तयार पार्न, खरिद विक्री गर्न वा आधिकारिक छाप वा चिन्ह लगाएका मतपत्र आफूसँगै लैजान बर्जित छ । त्यसो गरेमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुनेछ ।

निर्वाचन अधिकृत वा मतपत्र जिम्मा लिने कर्मचारी नगद, जिन्सी वा कुनै पनि लाभ लिएर मतपत्र मतदाता बाहेकलाई दिन विधेयकले रोक लगाएको छ । साथै धाकधम्की दिएर मतपत्र मतदाता बाहेक अरुलाई दिलाए दुई वर्षसम्म जेल सजायँ हुनेछ ।

फेसबुक पनि चलाउन नपाइने

यो विधेयकले विगतमाजस्तै अरुका नाममा भोट हाल्न रोक लगाएको छ । यसो गरिए २५ हजारसम्म जरिवाना हुनेछ । साथै मत पत्रमा संकेत गरिसकेपछि त्यो अरुलाई देखाउन पाइने छैन । मत पेटिकामा मतपत्र बाहेक अरु वस्तु खसाल्न पाइने छैन ।

मतपेटिकाभित्र भएका मतपत्र बिगार्न वा नष्ट गर्न कुनै वस्तु वा उपकरण खसाले पनि दण्डनीय हुनेछ । यसो गरिए एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्ष कद वा दुबै सजायँ हुनेछ । गैरनेपालीले मतदान गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद सजायँ हुनेछ ।

मतदान केन्द्र वा मतगणनास्थलमा विस्फोटक पदार्थ, भाला, खुकुरी जस्ता घरेलु हतियार पनि लैजान पाइँदैन । यो व्यवस्था उल्लंघन दुई लाखसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुबै सजायँ हुने नयाँ विधेयकमा व्यवस्था छ ।

यस्तै मतदान हुने दिन मतदान सुरु हुनुभन्दा २ घन्टा अघिदेखि मतदान नसकिएसम्म मतदान केन्द्रको २०० मिटर वरपर साउन्ड सिस्टम प्रयोग गर्न पाइनेछैन । साथै एसएमएस, सामाजिक सञ्जाल प्रयोग गर्न पाइँदैन । यतिमात्र होइन, यो विधेयकले बाजा बनाउने, नाचगान गर्ने, भोज खुवाउन पनि रोक लगाएको छ । यसको उल्लंघन गरेमा ५० हजारसम्म जरिवाना हुनेछ ।

भोज खुवाउन नपाइने

राज्य व्यवस्थाको उपसमितिले पास गरेको निर्वाचन कसुरसम्वन्धी विधेयक अनुसार कुनै पनि उम्मेदवार, उसको प्रतिनिधि वा व्यक्तिले मतदातालाई प्रभावित पर्ने गरी भोज भतेर गर्न वा उपहार दिन र लिन पाइने छैन । यो व्यवस्थाको उल्लंघन गर्नेलाई ५० हजारसम्म जरिवाना वा एक वर्ष जेल सजायँ हुनेछ । अथवा दुबै सजायँ हुने विधेयकमा व्यवस्था छ ।

निर्वाचन कसुर सम्बन्धी कानूनलाई अझै कडा बनाउनुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीले फरक मत राखेको छ । साथै चुनावमा भारतीय गाडी प्रयोगलाई दण्डनीय बनाउनुपर्ने उसको फरक मत छ ।

उपसमितिमा भएको छलफलमा अन्य दलका संसदहरुले भने अमू क देशको गाडी चल्ने वा नचल्ने भनेर कानुनमा लेख्न नहुने मत राखेका थिए ।

विधेयकमा निर्वाचनमा खटिएका कर्मचारीलाई प्रभावमा पार्न नहुने, हातहतियार प्रयोग गर्न नपाइने उल्लेख । अनुगमनकर्ता, सञ्चारकर्मी तथा पर्यवेक्षकले आफ्नो मत दिनबाहेक कुनै उम्मेदवारको पक्ष वा विपक्षमा काम गर्न पाउने छैनन् ।

चरित्र हनन गर्नु दण्डनीय

निर्वाचन कसूर तथा सजायँसम्वन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा निर्वाचन प्रचार-प्रसार सम्वन्धी सजायँको पनि व्यवस्था गरिएको छ ।

कुनै पनि उम्मेदवारले चुनाव प्रचार-प्रचार गर्दा सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानमा आँच पुर्‍याउन पाउने छैनन् भने लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा खलल गर्न पाइँदैन । साथै कुनै धर्म, जात वा समुदायको सम्वन्धमा खलल पुर्‍याउन, घृणा फैलाउने काम गर्न रोक लगाइएको छ ।

यसो गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा ३ वर्ष कैद वा दुबै सजायँ हुने विधेयकको व्यवस्था छ ।
चुनाव प्रचार प्रसारका क्रममा चुनावमा प्रभाव पार्ने उद्देश्यले एक उम्मेदवारले अर्काको वा उनको परिवारको चरित्र हनन हुने कार्य गर्न पाइने छैन । यसो गरिएमा ५० हजारसम्म जरिवाना र एक वर्षसम्म कैद हुनेछ ।

साथै धार्मिक, पुरातात्विक, सरकारी र सार्वजनिक भवनमा पर्चा टाँस्न वा लेख्न तथा मतदानको ४८ घण्टाअघिदेखि सभा वा जुलस गर्न रोक लगाइएको छ । चुनाव प्रचार-प्रचारमा सरकारी साथै स्कुलका सवारी साधन प्रयोग गर्न पाइने छैन । सरकारी कर्मचारी पनि सहभागी हुन रोक लगाइएको छ ।

आर्थिक सहयोग लिन नपाउने

चुनावमा राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिले आर्थिक सहयोग लिन पाउने छैनन् । कसैले रकम लिएमा आयोगले समय तोकेर रकम बुझाउन भन्ने छ । र, दाखिला नगरे सरकारी बाँकी रसह अुसल गरिनेछ भने सोही बराबर रकम जरिवाना गर्ने विधेयकमा व्यवस्था छ ।

साथै चुनावमा राजनीतिक दल वा उम्मेदवारले अन्य व्यक्तिबाट रकम खर्च गराउन पाउने छैनन् ।

स्रोत – अनलाइनखबर   https://www.onlinekhabar.com/2017/01/534274/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button